स्वास्थ्यकर्मी सुरक्षाका लागि धादिङ अस्पतालमा १४ सेट पीपीई
प्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
६२५ पाठक संख्या
धादिङ – स्वास्थ्यकर्मीको सुरक्षाका लागि धादिङ अस्पतालमा १४ सेट पीपीई आएको छ ।
सदरमुकाम धादिङबेशीमा रहेको जिल्ला अस्पताल धादिङमा मंगलबार १० सेट पीपीई (प्रशनल प्रोटेक्टिभ इकुमेन्ट– व्यक्तिगत सुरक्षा सामग्री) आएको धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो ।
कोभिड–१९ संक्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पीपीई यस अघि धादिङ अस्पतालमा ४ सेट रहेको थियो । विश्व नै जोखिममा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ्यकर्मीलाई नभई नहुने पीपीई मंगलबार १० सेट आएसँगै १४ सेट भएको धमलाले बताउनुभयो ।
पीपीई नहुँदा स्वास्थ्यकर्मीहरु जोखिमका बाबजुतमा काम गर्न वाध्य थिए । उपचारमा संलग्न डाक्टरनै संक्रमित बने भने उनीहरु मार्फत संक्रमण फैलने सम्भावना बढी हुने भएकोले डाक्टरहरुले पीपीईको माग गर्दै आईरहेका थिए । धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धमलाले यस अस्पतालको लागि प्रयाप्त नभएको भन्दै थप आउँदै गर्ने बताउनुभयो ।
कोभिड या यस्तै कडा संक्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पीपीईबिना सुरक्षित नहुँने चिकित्सकहरु बताउछन् । अध्यक्ष धमलाले भन्नुभयो,पीपीईले कपालदेखि पैतालासम्म छेक्ने र भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोक्ने हुँदा मानव शरीरभित्र पस्न पाउँदैन ।