२०८१ आश्विन २७, आईतबार
काठमाडौं – एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ ।
आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले रहेको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।
सबै मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहँदा प्रो मोडेलहरूमा प्रोमोसन (ProMotion) डिस्प्ले उपलब्ध गराइएको छ । सबै मोडेलमा फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ ।
एप्पलले यसअघिका आईफोनभन्दा नयाँ मोडेलको फ्रेम बढी बलियो र टिकाउ हुने बताएको छ ।
यी मोडेलमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्यानेजमेन्टको सुविधा भएको कम्पनीले जनाएको छ । तर ब्याट्रीको क्षमता भने खुलाइएको छैन ।
एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ सिरिजमा सिरीसँग जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर टाइप गरिदिनेछ ।
यसमा भएको एआईले फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ ।
आईफोन १६ का बेसिक मोडेलमा ए १८ बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ ।
फोटोग्राफीका लागि आईफोन १६ र आईफोन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ । यसले ४८ एमबीसम्मको फोटो खिच्न सक्छ । यी बेसिक मोडेलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीले जनाएको छ ।
यसमा भएको १२ मेगापिक्सेलको क्यामेरामा टु एक्स टेलिफोटो सेन्सर अटोफोकस सहितको अल्ट्रावाइड क्यामेराको काम गर्नेछ । यी दुई ओटा क्यामेराबाट चार ओटा क्यामेरा सेन्सरले गर्ने बराबरको फाइदा पाउनसक्ने जनाएको छ ।
पहिलो पटक कम्पनीले आईफोनमा स्पासियल फोटो खिच्न सकिने सुविधा समावेश गरेको छ । अर्थात् यसबाट खिचिएको फोटो र भिडिओलाई भिजन प्रो हेडसेटमा प्रयोग गर्न सकिन्छ ।
भिडिओमा अडिओ क्वालिटी पनि धेरै राम्रो हुने र त्यसमा भएको मेसिन लर्निङले अनावश्यक साउन्ड तत्कालै हटाइदिने बताइएको छ । त्यस्तै फोटोजको लाइब्रेरी कस्टमाइज गर्न सकिनेछ । अर्थात् लाइब्रेरी प्रयोगकर्ताले चाहे अनुसार फोटो मिलाएर राख्ने सक्नेछन् ।
आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ । यसमा अटो फोकसको सुविधा पनि छ । टेलिफोटो क्यामेराका सन्दर्भमा यसमा १२ मेगापिक्सेलको फाइभ एक्स जिम टेलिफोटो क्यामेरा रहेको छ ।
यसमा रहेको क्यामेरा कन्ट्रोल बटनबाटै फोटो वा भिडिओ स्विच गर्न सकिन्छ । फोटो वा भिडिओको एक्सोजर पनि क्यामेरा कन्ट्रोल बटनबाट मिलाउन सकिने छ । सब्जेक्ट फोकस नहटाई फ्रेम मिलाउन सकिने पनि क्याप्चर बटनले सहयोग गर्नेछ । कन्ट्रोल प्याडबाट फोटोको कलर एड्जस्ट गर्न सकिने छ भने क्यामेरा कन्ट्रोल बटनबाटै कलर ग्रेडियन्ट मिलाउन सकिने छ ।
भिडिओका सन्दर्भमा यसबाट फोरके रेजोलुसनसम्मको भिडिओ खिच्न सकिनेछ । १२० एफपीएसमा यसबाट सिनेम्याटिक स्लोमोसन भिडिओ खिच्न सकिनेछ ।
१२० एफपीएसमा अन्य किसिमका भिडिओ पनि खिच्न सकिने बताइएको छ । एकै पटक भिडिओ खिच्दा कति फ्रेममा खिच्ने भन्ने तत्कालै सेट गर्न सकिने छ । त्यसबाहेक क्याप्चर बटनबाटै विभिन्न साइजको फोटो खिच्न सकिनेछ ।
अडियोका सन्दर्भमा यसमा चार ओटा स्टुडिओ क्वालिटी माइक छन् । गुणस्तरीय अडियो रेकर्ड गर्न यी माइक उपयुक्त हुने दाबी कम्पनीको छ । एयरपड्स प्रो र भिजन प्रोका लागि उपयुक्त हुने अडिओ पनि यिनै माइकको सहायताले रेकर्ड गर्न सकिन्छ ।
आईफोन १६ को मूल्य अमेरिकी बजारमा ७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ) र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २० हजार रुपैयाँ) रहेको छ ।
त्यस्तै आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar