२०८१ आश्विन २७, आईतबार
राजनीतिमा कुनै पनि संगठनको मेरुदण्ड त्यो संगठनको दोस्रो पुस्ताको नेतृत्व हो । संगठन मजबुत बनाउने हो भने राजनीतिमा दोस्रो तहको नेतृत्व अझ सक्षम हुन जरुरी छ । दोस्रो तहको नेतृत्वमा प्रायः युवाकै नेतृत्व रहने गरेको हुन्छ । अहिले हाम्रो राजनीति सही दिशामा छैन । किनकि हाम्रो राजनीतिमा युवाको भूमिका सशक्त छैन । त्यसैले अब सुसंस्कृत राजनीति र समृद्ध नेपालका निम्ति सक्षम युवा राजनीतिको मैदानमा उत्रनुको विकल्प छैन ।
पछिल्लो समय नेपालको राजनीतिमा युवा पुस्ताको सहभागिता किन कम छ ? राजनीतिमा लहैलहैमा लागेर जाने युवाको सङ्ख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको सङ्ख्या निकै कम देखिन्छ । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् ।
राजनीतिमा युवा नेतृत्व स्थापित हुन नसक्नुका मुख्य तीन कारण छन् । राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेशा व्यवसाय गर्न शुरु गरेका व्यक्ति हुन्छन् । जीवनको यो कालखण्डमा युवाको स्रोतसाधनमा पहुँच सीमित हुन्छ । युवाहरू आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि बेहोर्नुपर्ने अवस्थामा हुन्छन् । आम्दानी कम र दायित्व बढी हुँदा युवा आफैलाई कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ । धेरै युवाले शुरुमा राजनीतिमा हामफाले पनि आर्थिक अवस्थाकै कारण राजनीति छाड्छन् । राजनीतिलाई जागिर बनाउने युवा राजनीतिमा टिक्छन् । आफ्नो इमानलाई केन्द्रमा राखेर राजनीतिलाई सेवामूलक बनाउने व्यक्ति हराउँदै जान्छन् । आज राजनीति फूलटाइम व्यवसाय जो बनेको छ ।
आफ्नो काम गरेर बचेको समय राजनीतिमा योगदान गर्ने माहोल हालको राजनीतिले प्रदान गर्दैन । चुनावमा उठ्नका लागि पैसा चाहिने, अगाडि पछाडि भुसतिघ्रे पाल्न पैसा चाहिने, चुनाव जित्न पैसा चाहिने भएपछि आज एउटा युवा आफ्नो स्वाभिमान बेचेर कसरी यो धन्दामा लाग्न सक्छ ? पढाइको तनाव, करिअरको तनाव, सम्बन्ध (प्रेम वा विवाह) को तनाव झेलिरहेका युवालाई राजनीति अनि समाजप्रति सक्रिय हुन यसै पनि त्यति सजिलो छैन । तपाईंले एउटा बच्चालाई के बन्छौ भनेर सोध्नुभयो भने डाक्टर बन्छु भन्छ, इन्जिनियर बन्छु भन्छ, बैङ्कर पनि भन्छन , तर नेता भन्दैनन् । केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले दिएको भाषण सम्झन्छु, ‘नगरपालिका यस विद्यालयलाई सहयोग गर्न तयार छ, ता कि यहाँका विद्यार्थी ठूलो डाक्टर, इन्जिनियर, कर्मचारी बनून् ।’ मलाई अचम्म लाग्यो । एउटा नेताले विद्यार्थीहरूलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन ? राजनीतिप्रति हाम्रो दृष्टिकोण सकारात्मक किन छैन ?
नेताकै नजरमा नेता किन सम्मानित छैन ? यहाँ अहिलेका नेता नै सक्षम युवा आएर हाम्रो भाग खोस्ने हुन् कि भन्ने डर पालेर बसेका छन् । उनीहरू सम्भव भएसम्म नयाँ पुस्ताले नेतृत्व लिन खोजेको देख्न रुचाउँदैनन् । थुप्रै युवाले आफ्नो मतदातापत्र बनाएकै हुँदैनन् । ‘मेरो भोटले अर्थ राख्दैन’ भन्ने भावले युवालाई राजनीतिबाट टाढा बनाउँदै छ । जब एकजना युवाले आफ्नो कारणले राजनीतिमा फरक पर्छ भनेर महसुस गर्न सक्दैन भने ऊ किन संलग्न हुने ? के शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्डलगायतका नेताले आम युवालाई प्रतिनिधित्व गरिरहेका छन् त ? छैनन् । म यस्तो बन्छु भनेर युवालाई राजनीतिमा लाग्न प्रेरणा दिने त्यो ‘रोलमोडल’ नहुनुले पनि युवा राजनीतिबाट तर्किएका हुन् । आजका हाम्रा पार्टीहरूको दलीय संरचना युवामैत्री छैन । एउटा सक्षम युवालाई पार्टीमा जोडिन सजिलो छैन । आफूभन्दा क्षमता नभएको, नेतृत्व कुशलता नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान युवा कसरी राजनीति गर्न सक्छ ? त्यसैले आज एउटा युवा बरु गैरराजनीतिक अभियानमा संलग्न हुन तयार छ, तर हालको परम्परागत राजनीतिमा आउन तयार छैन । तलबाट गुटको भ¥याङ् चढेर गर्नुपर्ने राजनीतिक संरचनाले युवालाई आकर्षण गर्न सक्दैन ।
समाधानका बाटाहरु :
हामी लोकतन्त्रमा छौं तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन । जसले लोकतन्त्रलाई नै कमजोर बनाउँदैछ । अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ । युवाको ऊर्जाले साहस गर्छ, बुढ्यौलीको अनुभवले सम्झौता । अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने ? राजनीतिलाई कमाइखाने भाँडो बनाउने होइन, आफ्नो खुट्टामा उभिन सक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । यसर्थ, दलीय संरचना, नीति तथा कार्यक्रमले नै युवालाई राजनीतिप्रति आकर्षण गराउन जरुरी छ । सक्षम युवालाई छात्रवृत्तिजस्तै राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यका तहबाटै पहल किन नगर्ने ? अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्र किन नबनाउने ? संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ ।
आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ । जसले आउँदै गरेको युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् । केही वर्षदेखि राजनीति अहिंसात्मक, मूल्यमान्यतामा आधारित, नागरिकमुखी अनि युवामय बन्न सक्छ भनेर विवेकशील नेपालीले गरिरहेका कार्यक्रम त्यसको उदाहरण बन्न सक्छ । अब प्रत्येक पार्टीमा युवालाई अगाडि बढाउने संयन्त्र नै हुनुपर्छ । युवालाई नतिजा निकाल्न र जवाफदेही हुन बढी कर लाग्छ । किनकि उनीहरूलाई आफूलाई सावित गर्नुपर्ने चुनौती हुन्छ । अब शीर्ष नेतृत्व अनि संगठनको मूल्याङ्कन नै उसले कति सक्षम नेतृत्व जन्माउन सक्छ, त्यसमा मापन हुन जरुरी छ । अनि मात्रै हामीले पनि ३५ वर्षीय विपक्षी दलको नेता, ३४ वर्षीय प्रधानमन्त्री, २५ वर्षीय मन्त्री पाउन सक्छौं । नत्र सबै कुरा नारामै सीमित हुन्छ ।
अब गोविन्द केसी अनसन बस्दा माइतीघर गएर, एक दिन मैनबत्ती बालेर, सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ हालेर युवा पन्छिन पाउने छैनन् । परिवर्तन गर्ने र राजनीतिमा नयाँ अध्यायको शुरुवात गर्ने हो भने सक्षम युवा राजनीतिमा आउनुको विकल्प छैन । युवाहरू पार्टी कार्यकर्ताका रूपमा मात्र होइन, स्वतन्त्र विचार विमर्श समूहको रूपमा सहभागी भएर पनि राजनीतिलाई दिशानिर्देश गर्न सक्छन् । आफ्नो नेतालाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने हामी र हाम्रो राजनीति अघि बढ्न सक्दैन । त्यसैगरी, राज्यले युवालाई राजनीतिप्रति सचेत बनाउन शिक्षाको मोडेल बदल्न जरुरी छ । भोट किन महत्वपूर्ण छ ? राजनीतिमा चासो किन जरुरी छ ? त्यो स्कुल जीवनदेखि नै बुझाउन जरुरी छ । हामीले १२ कक्षाको रिजल्ट लिनुअघि मतदाता कार्ड बनाउनुपर्ने नीति लागु गर्न पनि सक्छौं, जसले विद्यार्थीलाई भोट हाल्न प्रेरित गरोस् । खुला सोच, विनम्रता अनि साहससहित युवाले आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ । अबको युवा नेतृत्वलाई अहिलेका नेतृत्वले गरेका गल्ती दोहो¥याउने छुट छैन । यी नेताले विकास र परिवर्तन भनेको लाइनमा रहेको पहिलो व्यक्तिका लागि मात्र हो भन्ने बुझे । त्यसैले क्रान्तिपछि नेताकै वरिपरिका मात्र सम्पन्न भए । अबका युवाले विकास लाइनको अन्तिममा रहेका व्यक्तिहरूका लागि पनि हो भन्ने बुझ्न जरुरी छ । युवा नेताको काम समस्या पहिचान गर्ने वा समाधान दिने मात्र होइन, समाधान गर्न अरूलाई सहभागी गराउने पनि हो ।
लेखक चौधरी नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar