२०८१ आश्विन २५, शुक्रबार
१५ चैत्र,काठमाण्डौं – बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् ।
क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेका सीएनएनले उल्लेख गरेको छ ।
बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदछ । कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।
राजकुमार ह्यारी पत्नी मेघनले अमेरिकी टेलिभिजन सेलिब्रेटी ओप्राह विन्फ्रेलाई आफूहरु बेलायती राजपाठ छाडेको सम्बन्धमा दिएको विस्तृत अन्तर्वार्ताको केही हप्तामै ह्यारीले नयाँ जागिर सुरु गरेका हुन् । राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा पनि उनीहरुले बोल्ने गरेका छन् ।
बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु हुनेछ । उक्त कम्पनीमा राजकुकमार ह्यारीको तलब कति हुनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन । कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।
आफू कम्पनीमा आबद्ध हुनुका कारणका विषयमा कम्पनीको ब्लगपोष्टमा ह्यारीले भनेका छन्,-‘बेटरअप कम्पनीले मेरो ध्यान आकर्षित गर्नुको कारण चाहिँ अन्वेषण, प्रभाव र इमान्दारिताका साथ मानिसहरुका सम्भावना र क्षमताका ढोका खोल्ने कम्पनीको मिसन नै हो । कम्पनीको टिमले वर्षौंदेखि यो काम गरिरहेको छ ।’ कम्पनीले उपलब्ध गराएको प्रशिक्षणबाट आफू व्यक्तिगत रुपमा पनि लाभान्वित भएको ह्यारीले जनाएका छन् ।
बेटरअप कम्पनीका कार्यकारी तहको जागिरका अलावा ह्यारी दम्पत्तिले आफ्नै कम्पनी पनि खोलेका छन् । आर्केवेल अडियो नामक उक्त कम्पनी स्पोटीफाइ सँग साझेदारी गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar