३ भाद्र, काठमाडौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।
घिमिरेको मंगलबार साँझ आफ्नै निवास लैनचौरमा ५ बजेर ५५ मिनेटमा निधन भएको हो । कविता र गीतका माध्यमबाट नेपालीको मनमस्तिष्क छुन सकेका घिमिरेलाई समालोचकले परिष्कारवादी धाराका अत्यन्त महत्वपूर्ण कविका रुपमा लिएको पाइन्छ । वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेका गौरी (शोककाव्य), राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामा लगायतका खण्डकाव्य र चैतवैशाख काव्यसंग्रह निकै चर्चित छन् । अश्वत्थामा (अंग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि समेत पठाइएको थियो ।
त्यसैगरी, उनका नव मञ्जरी, मालती मंगले (गीतिनाटक), इन्द्रकुमारी, राष्ट्रनिर्माता, हिमालपारि हिमालवारि (गीतिनाटक), किन्नर–किन्नरी (गीतसंग्र्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति प्रकाशित छन् । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथममा उत्तीर्ण गरे । त्यसपछि अध्ययनका लागि उनी भारतको बनारस पुगेका घिमिरेले क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।
घिमिरेले १९९२ सालमा गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकमा पहिलो कविता छपाएका थिए । घिमिरे २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे पनि थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरेका थिए । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहेका थिए ।
उनले २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए । उनी २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे । गीत, कविता, नाटक, यात्रा संस्मरण, निबन्ध, कथा अनुवाद लगायतका विधामा कलम चलाएका घिमिरेले २०५४ र २०५८ क्रमशः ‘हिमालपारि हिमालवारि’ र ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका थिए । २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
२०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जंगीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिइन् । त्यस्तै, उनलाई २०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । उनलाई २०६० सालमा ‘राष्ट्रकवि’ को उपाधिले सम्मान गरिएको थियो ।
उनका ‘गाउँछ गीत नेपाली’, ‘फूलको थुंगा बगेर गयो’ (स्वर तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (स्वर नारायणगोपाल), ‘नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे’ लगायतका दर्जनौं गीत निकै चर्चित छन् । उनको पहिलो कविता कृति नव मञ्जरी १९९४ सालमा प्रकाशित भएको थियो । उनले वि.सं. २००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि गौरी शोककाव्य लेखेका थिए । अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे जुन उनको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उनले महाकाली घिमिरेसंँग विवाह गरेका थिए । मालतीमंगले उनले लेखेको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो ।
यसका साथै उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ । राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उनका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । उनको नेपाली लोकलयमा प्रभावशाली गीत रचना अर्को विशेषता हो । यस्तै उनले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसंख्यक नेपाली पाठकले बुझ्नेस्तरमा लेखेका थिए ।
राष्ट्रकवि घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उनी नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती थिए । उनको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन् । राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाएका छन् । यसैबीच, राष्ट्रकवि घिमिरेको अन्त्येष्टी बुधबार विहान १० बजे पशुपति आर्यघाटमा हुने भएको छ । सरकारले विशेष सम्मान दिने भएको छ ।
‘ऋतम्भरा’ दिएर गए राष्ट्रकवि
राष्ट्रकवि घिमिरेले जिवन उत्तराद्र्धमा एक महाकाव्य लेखिरहेका थिए ।
उमेर ढल्केसँगै स्वास्थ्यमा देखिएको प्रतिकुलताको बाबजुद् पनि उनले महाकाव्य लेखिरहेका थिए । यसअघि एकपटक उनी गम्भिर बिरामी भए । त्यसपछि घरमा आराम गरिरहँदा उनले भनिरहन्थ्ये, ‘यो महाकाव्य नसिध्याई म जाँदिन ।’ अर्थात् यो महाकाप्य लेखेरै छाड्छु भन्ने विश्वास उनमा थियो । तर, यस विषयमा पछिल्लो पटक कुनै खबर आएको थिएन । उनको परिवारले दिएको जानकारी अनुसार अस्वस्थ्यका बाबजुद् राष्ट्रकवि घिमिरेले सो महाकाव्य पूरा भएको छ ।
मंगलबार बुबाको निधनबारे जानकारी दिँदै राष्ट्रकविकी साहिली छोरी मञ्जु अधिकारीले ‘ऋतम्भरा’ लेखनकार्य सकिएको जानकारी दिइन् । ‘उहाँको तर्फबाट लेखन सकिएको थियो, हामीले सुगठित गरेर प्रकाशन गर्न मात्र बाँकी थियो’, अधिकारीले टेलिफोनमा भनिन्, ‘उहाँ रहनुभएको भए, केही थप पनि गर्न सक्नुहुन्थ्यो होला, तर अब त्यो सम्भवना रहेन ।’ २०६३ सालमा बालबालिका लागि प्रकाशित कविता संग्रह ‘बिजला र बिजुली’ पछि राष्ट्रकवि घिमिरे यही आफ्नो जीवनको अन्तिम महाकाव्य लेख्नमा व्यस्त रहेका थियो ।
एक वर्षअघि आफ्नो १००औँ जन्मदिनका अवसरमा उनले महाकाव्य सक्न अब दुई सर्ग मात्र बाँकी रहेको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar