२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भयो । फाइनल खेलमा २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए ।
त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए । त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो ।
नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । त्यस्तै, निरज यादवले ४७ रन जोडे ।
मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए । समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको उपाधि जितेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar