२०८१ आश्विन २८, सोमबार
९भदौ,काठमाण्डौ- इलाम देउमाई नगरपालिका–२ मंगलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । उनलाई उपचारका लागि नेपाल तथा भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबासमेत गुमाइन् । उनी अहिले १६ वर्ष पुगिन् । शारीरिकरूपमा अस्वस्थ भए पनि पढाइमा अब्बल र प्रतिभाशाली छिन् उनी ।
सुमलालाई अध्ययनका लागि ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त उनमा चित्रकलाको सोख छ । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउने गरेकी उनले चित्रकलामै भविष्य देखेकी छन् । ‘मेरो चित्र हेर्न धेरै जना आउनुहुन्छ, उहाँहरूले राम्रो छ भन्नुहुन्छ’, उनले सुनाइन् । चित्र बनाउन धेरै मिहिनेत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । ‘धरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन,’ उनले खुसी हुँदै भनिन् ।
माई नगरपालिका–९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपांगता भएका बालक हुन् । ११ वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । ‘सानै छ तैपनि चित्र राम्रै बनाउँछ,’ अरुणका बुबा लक्ष्मणले भने, ‘यही कला देखेर एक जनाले पढाउन काठमाडौं लान्छु भन्नुभयो तर अलि अशक्त भएकाले दिइनँ ।’
एकपट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई समस्या छ । तर, दुःखले हिँड्न भने समस्या छैन । ‘पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छजस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु,’ लक्ष्मण भन्छन्, ‘चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।’
त्यस्तै इलाम नगरपालिका–७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिँड्नका लागि साहारा चाहिन्छ । शारीरिक रूपमा अशक्त भए पनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरू दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । ‘हिँड्न त कि मान्छेको कि ह्विलचियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन,’ भुपाल भन्छन्, ‘पढाइमा त कहिल्यै फेल भइनँ, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।’ भुपाल मात्र होइन आलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । ‘अरू केही गरिन्छ भन्ने त लाग्दैन, पढेरचाहिँ राम्रै मान्छे बन्ने सोच छ,’ आलोक भन्छन्, ‘सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।’
सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपांगता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यसता प्रतिभाहरू जिल्लामा धेरै छन् । अपांगता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न सक्दा अब्बल दर्जाको नागरिक बन्नसक्ने अपांगता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । ‘समाजमा अझै पनि अपांगता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक छ, यो सोचमा परिवर्तन आवश्यक छ, किनभने अवसर दिए गरेर देखाउन उनीहरू सबै मानिसजस्तै सफल हुनेछन्,’ चापागाईंले भने ।
पछिल्लो समय सरकार र संघसंस्थाले अपांगमैत्री काम गरेका कारण अपांगता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपांगतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउन्डेसनका छवि श्रेष्ठ बताउँछन् ।
फाउन्डेसनले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनःस्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपांगता भएका (हात–खुट्टा गुमाएका) लाई कृत्रिम अंग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपांगता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्तासमेत उपलब्ध गराउन थालेपछि अपांगता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।
स्थानीय तहको समन्वयमा फाउन्डेसनले अपांगता मैत्री काम गर्दै आएको छ । यसैवर्ष मात्र फाउन्डेसनले ८ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपांगता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्विलचेयरदेखि कृत्रिम हातखुट्टा, श्रवणयन्त्र लगायतका सामग्री प्रदान गरिएको छ । फाउन्डेसनले अपांगता भएकाहरूलाई कष्टकर हुने खालको आवासीय संरचनासमेत सुधार गरिदिएको छ । करिब ८७ जना अपांगता भएकाको आवासीय संरचना सुधार गरिएको छ । १० हजार सम्मको लगानीमा घर, शौचालय र बाटोको संरचना सुधार गरिएको फाउन्डेसनका छवि श्रेष्ठले बताए ।
समाजमा अपांगता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपांगता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ । ‘कतिपयले नागरिकता नै बनाएका हँुदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,’ उनले भने, ‘त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।’
यता अपांगता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउँछन् । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागार्इंले बताए । जिल्लामा ४ हजार ३ जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये २ हजार ४ सय ९९ जना पुरुष र १ हजार ८ सय १ जना महिला छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar