२०८१ बैशाख २३, आईतबार
काठमाण्डौ – अत्यावश्यक बाहेकका अन्य वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटामा पनि कटौती गरेको छ ।
राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, राष्ट्रियस्तरका सबै विकास बैंक र अन्य निकायहरुको नाउँमा समेत परिपत्र जारी गर्दै सुनको दैनिक आयातलाई हालको लागि १० किलोमा सीमित राख्न निर्देशन दिएको हो । यसअघि सुनको दैनिक आयात कोटा २० किलो थियो । तर पछिल्लो समय आयात बढेपछि विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले पनि राष्ट्र बैंकले आयातलाई कडाइ गर्दै आएको हो ।
सोहीअनुरुप हालको लागि सुनको दैनिक आयात कोटालाई १० किलोमा सीमित राखिएको राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै विदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गरिएको सुन आयातको सम्बन्धमा आइतबार जारी भएको परिपत्रमा उल्लेख छ ।
यसैबीच बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहसम्बन्धी राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा ४७ अर्ब १८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले सुनचाँँदी धितोमा मात्र झण्डै ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यसरी प्रवाह भएको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरुले मात्र सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा रकम भने ४२ अर्ब ५७ करोड ८० लाख रुपैयाँ छ ।
यस अवधिमा विकास बैंकहरुले भने सुनचाँदी धितोमा तीन अर्ब ६६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने फाइनान्स कम्पनीहरुको यस्तो कर्जा रकम ९४ करोड ३० लाख रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख र ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ छ । यसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख र ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ छ । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख र चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar