मकवानपुर – हेटौंडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र गण्डकी प्रदेशले आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेका छन्।
हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको आइतबारको खेलमा एपीएफले मधेश प्रदेशलाई २५–८, २५–११, २५–७ को सोझो सेटमा सहजै पराजित गर्यो। अनुभवी र राष्ट्रिय स्तरका खेलाडीहरूसँग सुसज्जित एपीएफले मधेश प्रदेशलाई कुनै मौका नदिँदै दबाबपूर्ण खेल प्रदर्शन गर्यो।
एपीएफ समूह ‘ख’ अन्तर्गत पहिलो खेलमा न्यु डायमण्ड युथ क्लबसँग पराजित भएको थियो। दोस्रो खेलमा जित निकाले पनि सेमिफाइनल यात्रा पक्का गर्न एपीएफले मधेश र न्यु डायमण्डबीचको खेलको नतिजा कुर्नुपर्नेछ। समूह ‘ख’बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो सोही खेलपछि लाग्नेछ।
त्यसैगरी, आइतबारको अर्को प्रतिस्पर्धात्मक खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई पनि सोझो सेटमै पराजित गर्दै २५–११, २५–१२, २५–१९ को नतिजासहित सेमिफाइनलमा स्थान पक्का गर्यो।
बागमती प्रदेशले यसअघि दुई खेलमा पराजय ब्यहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘क’ अन्तर्गत अन्तिम खेल नेपाल पुलिस र गण्डकीबीच हुने छ, जसको नतिजाले समूह विजेता र उपविजेता टुंगो पार्नेछ।
प्रतियोगितामा जम्मा ६ टोलीको सहभागिता रहेको छ। विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख र चौथो स्थान हासिल गर्ने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता महिला भलिबलको प्रवर्द्धन र खेलाडीहरूको स्तर उकास्न महत्वपूर्ण हुने आयोजकको विश्वास छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar