विराटनगर – कोशी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। यसअघि गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेअनुसार बैठक आजदेखि सुरु हुन लागेको हो।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गर्दै बैठक बोलाउनुभएको हो। आजको बैठकमा अधिवेशन आह्वानसम्बन्धी सूचना पढेर सुनाइनेछ। साथै, केही प्रदेश ऐनमा संशोधन गर्न बनेको अध्यादेश–२०८२ प्रदेशसभामा टेबुल गरिने कार्यक्रम रहेको छ।
साथै, आजकै बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट अधिवेशन प्रारम्भ सन्दर्भमा धारणा राख्ने कार्यक्रम पनि रहेको छ।
यसैबीच, कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आगामी जेठ ५ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेको र त्यसलाई प्रदेशसभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गरिएको छ।
भण्डारीले भने, “प्रदेश सरकारको नीति तथा कार्यक्रम आगामी सोमबार पेश गरिनेछ। त्यसको तयारी अन्तिम चरणमा पुगेको छ र यसमार्फत जनमुखी योजनाहरू प्रस्तुत गरिनेछन्।”
बजेट अधिवेशन प्रारम्भसँगै प्रदेशसभामा राजनीतिक दलहरूबीच नीति तथा कार्यक्रम, बजेट र समग्र विकास योजना विषयमा बहस हुने अपेक्षा गरिएको छ। खासगरी रोजगार, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासजस्ता क्षेत्रमा केन्द्रित नीति ल्याउने तयारीमा सरकार रहेको बताइएको छ।
प्रदेशसभाका प्रमुख विपक्षी दलहरूले पनि सरकारको कार्यशैली, खर्च क्षमता र नीति कार्यान्वयनको प्रभावकारिताबारे प्रश्न उठाउने तयारी गरेका छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar