नेपालगञ्ज – बाँकेको कोहलपुरमा शनिबार बिहान बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि बास नेपालको आयोजनामा रेष्टलेस डेभलपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग तथा कोहलपुर नगरपालिका र वडा नम्बर ८ को सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सरसफाई कार्यक्रममा सहभागीहरुले “प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मुल नाराका साथ झण्डहा चोकदेखि सुरु गरी सडकको दायाँ–बायाँ हुँदै पिपरी चौकसम्म सरसफाई गरेका थिए। सहभागीहरुले स्यामबहार, सुर्ति, मेघाश्रीजस्ता ब्राण्डका प्लाष्टिकजन्य सामग्रीहरू अन्य फोहोरभन्दा धेरै मात्रामा भेटिएको भन्दै यस्ता उत्पादनहरूको प्रयोग घटाउन आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा सहभागीहरुले “तरकारीमा मिठो जिरा, लागू पदार्थ सेवन गर्नेको मुखमा किरा” भन्ने नारा लगाउँदै लागू पदार्थविरुद्ध पनि सचेतना फैलाएका थिए। साथै, यमुना घिमिरेले “सरसफाई गरौं भन्दा फोहोर नगरौं भन्ने अभियानको खाँचो छ” भन्दै दीर्घकालीन समाधानको पक्षमा जोड दिइन्।
कार्यक्रममा बास नेपालका स्वयंसेवक, कोहलपुर नगरपालिका वातावरण शाखा, द एक्जाम गुरु एकेडेमीका विद्यार्थी, विभिन्न सामुदायिक बन उपभोक्ता समिति र स्थानीय नागरिक गरी करिब १०० भन्दा बढीको सहभागिता रहेको थियो। बिहान ७ बजे सुरु भई ९ बजे समापन गरिएको उक्त कार्यक्रममा प्लाष्टिक फोहोरमुक्त समाज निर्माणको सन्देश दिइएको थियो।
कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएको सन्देश वाचन गरेर गरे। उद्घाटन समारोहमा बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले “प्लाष्टिकजन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लाष्टिकको विकल्प रोजौं” भन्ने जस्ता विभिन्न नारा बाचन गरेका थिए।
कार्यक्रमको समापनमा बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले सहभागी सबैलाई धन्यवाद दिँदै सरसफाई सबैको दायित्व भएको स्मरण गराइन्। उनले प्लाष्टिकको प्रयोग आजैबाट कम गर्न र मानवीय स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न सबैलाई आह्वान गरिन्। वडा अध्यक्ष रानाले पनि आगामी दिनमा वडास्तरीय सरसफाई कार्यक्रममा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
यो अभियानले स्थानीय तहमा फोहोरमुक्त वातावरण निर्माण, प्लाष्टिक न्यूनीकरण र सचेतनाको सन्देश फैलाउन उल्लेखनीय योगदान गरेको आयोजकले जनाएका छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar