काठमाडौँ – विदेशी लगानीकर्ताहरू नेपालको सेवामुलक क्षेत्रमा लगानी गर्न धेरै आकर्षित भएका छन् । विदेशी लगानीकर्ताले साउनदेखि वैशाखसम्म गरेको प्रतिवद्धताको तथ्यांक हेर्दा सेवामुलक क्षेत्रमा आकर्षण देखिएको हो ।
चालु आर्थिक वर्षको १० महिनामा ५७६ उद्योगका लागि कुल ५७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उक्त लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा २९ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ प्राप्त भएको उद्योग विभागले जनाएको छ । यो क्षेत्रका ६६ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो ।
विभागका अनुसार पर्यटन क्षेत्रका २२३ वटा उद्योगहरूका लागि २१ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै, उत्पादनमुलक क्षेत्रका ३९ उद्योगका लागि २ अर्ब ९२ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका २३५ वटा उद्योगका लागि १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार ऊर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषिमा १ अर्ब ४२ करोड तथा पूर्वाधार क्षेत्रका उद्योगमा ५ करोड बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट १० महिनामा २९४ उद्योगका लागि ५३ अर्ब ७० करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट २८२ उद्योगका लागि ३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवको १० महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार यस अवधिमा ५६२ वटा साना उद्योग, १० वटा मध्यम र ४ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । १० महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १४ हजार ७१९ जनाले रोजगारी पाउनेछन् ।
कुन कुन हुन् सेवामुलक उद्योग ?
सरकारले ६४ वटा उद्योगलाई सेवामुलक उद्योगका रूपमा समावेश गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची–८ को (दफा १७ को उपदफा (२) को खण्ड (ज) अनुसार वर्कसपदेखि ई–कमर्स र सर्भिस अपार्टमेन्टसम्मलाई सेवामुलक उद्योगका रूपमा लिइएको छ । यान्त्रिक कार्यशाला (वर्कसप), छापाखाना तथा छपाइसम्बन्धी सेवा, पेसागत अनुसन्धान तथा विकास, व्यवस्थापन, इन्जिनियरिङ तथा डिजाइन, कानुनी, लेखा, लेखापरीक्षण, शिक्षण प्रशिक्षण, शैक्षिक तथा प्राविधिक परामर्श सेवाहरू, जिनिङ तथा बेलिङ व्यवसाय, प्रदर्शनी सेवा, सांस्कृतिक तथा मनोरञ्जनात्मक व्यवसाय, निर्माण व्यवसाय, सार्वजनिक यातायात व्यवसाय, फोटोग्राफी, अस्पताल, नर्सिङ होम, क्लिनिक, पोलिक्लिनिक, पुनःस्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल सेवामुलक उद्योगमा पर्दछन् ।
त्यस्तै, शारीरिक व्यायाम, योग–ध्यान तथा अभ्यास केन्द्र सञ्चालन, शिक्षण एवं प्रशिक्षण संस्था, पुस्तकालय, अभिलेखालय तथा संग्रहालय सेवा, प्रयोगशाला, हवाई यातायात सेवा, खेलकुद सेवा, स्वीमिङ पुल, शीत भण्डार सञ्चालन, हाउस वायरिङ इलेक्ट्रिकल फिटिङ र मर्मत, फोहोरमैला संकलन तथा सरसफाइ, फोहोरमैला पुनः प्रशोधन, घर जग्गा खरिद गरी भूमि विकास गरी बिक्री गर्ने व्यवसाय, उपकरण मर्मत तथा जडान, रेडी मिक्स कंक्रिट, निर्यात गृह, प्रविधि तथा आविष्कार केन्द्र लगायतका सेवामुलक उद्योगमा पर्दछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar