काठमाडौं – लामो समयदेखि व्यापार तनावमा रहेका अमेरिका र चीनबीच अन्ततः व्यापार सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा दुई दिनसम्म चलेको गहन वार्तापछि दुबै पक्ष सहमतिमा पुगेका हुन्। सम्झौतापछि अमेरिकी अधिकारीहरूले यो सम्झौतालाई “महत्वपूर्ण उपलब्धि” भन्दै स्वागत गरेका छन्।
अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतापछि खुशी व्यक्त गर्दै भने, “म यो जानकारी दिन पाउँदा खुशी छु कि अमेरिका र चीनबीचको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको छ।” उनले यो सम्झौताको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि गराइसकिएको जानकारी दिए। यद्यपि, सम्झौताको विस्तृत विवरण केही समयपछि मात्र सार्वजनिक गरिने बताइएको छ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले वार्तालाई सकारात्मक र प्रभावकारी भएको बताए। “दुई दिनको वार्ता अत्यन्तै रचनात्मक रह्यो, हामी छिटै सहमतिको बिन्दुमा पुग्यौं,” उनले भने, “यसले देखाउँछ कि दुबै देशबीच अनुमान गरिएजति ठूलो मतभेद थिएन।”
यस सम्झौतापूर्व अमेरिका र चीनबीच बेलाबेला आयातमा अतिरिक्त कर र शुल्क लगाउँदै एकअर्काविरुद्ध व्यापार युद्धको स्थिति सिर्जना हुँदै आएको थियो। यस्ता नीतिहरूले विश्वव्यापी बजारमा समेत अस्थिरता ल्याएको थियो।
यसबाहेक, केही हप्ता अघिमात्रै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर नाघेको भन्दै चिनियाँ वस्तुहरूमाथि थप ट्यारिफ लगाउने चेतावनी दिएका थिए। तर अब भएको यो सहमतिले व्यापार घाटा न्युनिकरणतर्फ सकारात्मक संकेत दिएको अमेरिकी पक्षको विश्वास छ।
जेनेभामा सम्पन्न वार्तामा चीनका उपप्रधानमन्त्री तथा दुई उपमन्त्रीहरूसहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी थिए। अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रिरले वार्ता अगुवाइ गरेका थिए।
यो सम्झौतालाई अमेरिका–चीन सम्बन्धमा एक नयाँ युगको सुरुवातको रूपमा हेरिएको छ, जसले न केवल द्विपक्षीय व्यापार प्रवाहमा स्थिरता ल्याउनेछ, तर विश्व अर्थतन्त्रमा समेत सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar