२०८१ भाद्र ३०, आईतबार
काठमाडौँ – नयाँ सरकार गठनसँगै सेयर बजारमा आएको परिवर्तनलाई लिएर सत्तारूढ दुई पार्टी एमाले र कांग्रेसको मत बाझिएका छन् । वर्तमान अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतबीच यसविषयमा मतभेद देखिएको हो । यस विषयमा वर्तमान अर्थमन्त्री पौडेलले सरकारको नीति, दृष्टिकोण, प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन र अभिव्यक्तिले सेयर बजारमा उत्साह छाएको बताएका छन्, भने पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले पछिल्लो समय सेयर बजारमा भइरहेको वृद्धि स्वभाविक नभएको बताएका छन् ।
नयाँ सरकार आएपछि सेयर बजारमा आशाको सञ्चार भयो : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति, दृष्टिकोण, प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन र अभिव्यक्तिले सेयर बजारमा उत्साह छाएको बताएका छन् । अर्थमन्त्री पौडेलले नयाँ सरकार आएपछिका दिनमा सेयर बजारमा केही आशाको सञ्चार देखिएको बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले संसद्बाट नै सेयर बजारका सम्बन्धमा महत्वपूर्ण अभिव्यक्ति दिनुभएको छ । सेयर बजारमा अहिले जुन प्रकारको उत्साहको अवस्था देखिएको छ, त्यसको पछाडि सबैभन्दा पहिला सरकारको नीति, दृष्टिकोण, प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन र अभिव्यक्ति नै जिम्मेवार छन् भन्ने म ठान्दछु ।’
उत्साहको पछाडिको मुख्य कारण नै सरकार भएको उनले दाबी गरे । उनले भने, ‘अर्थ मन्त्रालय सम्हालेको नाताले मेरो नाम पनि जोडिनुलाई मैले अन्यथा भन्न मिलेन तर मुख्य रूपमा सरकारको नीति र प्रधानमन्त्रीको अपिल, सम्बोधन नै मुख्य जिम्मेवार हो ।’
आमलगानीकर्ताले यो सरकारलाई भरोसा गरेको उनले बताए । उनले भने, ‘बजारले यो सरकारलाई पत्याएको छ । यसले कुनै पनि अपरिपक्व निर्णय लिँदैन भन्ने बुझाइ छ । हामीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरेका छौँ ।’
यो सरकारले नीतिगत स्थायित्व, राजनीतिक स्थायित्वको सुनिश्चित गरेर अगाडि जान सक्छ भनेर विश्वास पैदा भएको अर्थमन्त्री पौडेलको दाबी छ । उनले भने, ‘सरकार पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अगाडि बढाउन चाहन्छ । कुनै पनि अदृश्य व्यापार नहोस्, कुनै पनि अनियमितता नहोस् भनेर परिपक्व ढंगले अगाडि बढाउनुपर्छ भन्ने सरकारको मान्यता छ । कुनै पनि लगानीकर्ता पीडित नहुनुस् लगानी नडुबोस् भन्नेमा होसियार छ ।’
सेयर बजारको वृद्धि स्वाभाविक छैन : पूर्वअर्थमन्त्री महत
काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय सेयर बजारमा भइरहेको वृद्धि स्वभाविक नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्री महतले भने, ‘मौद्रिक नीति आउनु अगाडिदेखि नै सेयर बजारमा गति देखिएको छ । तर, जसरी सेयर बजारमा बुलिस ट्रेन्ड देखिएको छ त्यसलाई हामीले सहजरूपमा लिनसक्ने अवस्था अवश्य पनि छैन । त्यहाँ केही चलखेलकर्ताहरूले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको छ ।’
कतिपय कम्पनीहरूको जसरी सेयर भाउ बढेको छ त्यो स्वभाविक नभएको उनले जनाए । केही कम्पनीको अवस्था नहेरी सेयर मूल्य तेब्बरसम्म बढाइएकोले यसतर्फ नियामक निकायको ध्यान दिनुपर्ने उनको भनाइ छ । आउने दिनमा आर्थिक गतिविधि बढ्ने बताउँदै उनले अगाडि भने, ‘मौद्रिक नीति कहिले चाहिनेभन्दा लचक त कहिले चाहिनेभन्दा कसिलो आउने गरेको छ । जसले गर्दा गत समयमा समस्या आएको थियो । म अर्थमन्त्री हुँदा राष्ट्र बैंकसँगको समन्वयमा केही सुधारहरू भए । त्यसले अर्थतन्त्रलाई ट्रयाकमा लैजानका लागि मद्दत गर्यो । तर, यथेष्ट सुधार भइसकेको थिएन ।’
‘बैंकरेट र पोलिसी रेट घटाउँदैमा ब्याजदरमा कुनै प्रभाव पर्दैन । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता छ । उल्टो राष्ट्र बैंकमा जम्मा गरिरहेको अवस्थामा यसरी घटाउँदैमा ब्याजदर घट्ने देख्दिन’, उनले भने । त्यस्तै, उनले नेपालको अर्थतन्त्रलाई सकारात्मक बाटोमा उन्मुख गर्नका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका अपरिहार्य रहेको बताए ।
मौद्रिक नीतिमार्फत निजी क्षेत्रलाई चलायमान गर्ने, कर्जा प्रवाह सुनिश्चित गर्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ । राज्यबाट विनियोजन भएको बजेट ठिक ढंगबाट परिचालन हुन जरुरी रहेको उनले बताए । यसको गर्न सकिएन भने आर्थिक वृद्धिको जुन कल्पना गरिएको छ त्यो पूरा हुन नसक्नेसमेत उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar