बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि दिएका थिए दिपेश पुनले राजीनामा
काठमाडौं – पूर्व उपराष्ट्रपति तथा माओवादी नेता नन्दबहादुर पुनका पुत्र दिपेश पुन जोडिएको रुपन्देहीको सुप्रिम सहकारीको दर्ता प्रकृयामै कैफियत देखिएको छ ।
उक्त सहकारी समस्याग्रस्त भएपछि लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले सहकारीमाथि अनुसन्धान गरी प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनले सहकारी दर्ता प्रक्रिया, सदस्यता वितरण, रकम संकलन र ऋण लगानीमै प्रश्न उठाएको पाईएको छ । ०७२ सालमा सहकारी दर्ता गर्ने तत्कालीन सहकारी डिभिजन कार्यालय रुपन्देहीका निर्णयकर्ता कर्मचारीको काममा समेत कैफियत देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सहकारीका सञ्चालक समितिका पदाधिकारीको नागरिकताको ठेगाना संस्थाको कार्यक्षेत्र भित्रको हुनुपर्ने वा कार्यक्षेत्रभित्र बसोबास गरेको परिचय खुल्ने बसाइसराइ वा मतदाता सूचीमा नाम हुनुपर्ने प्रावधान सहकारी ऐनमा पनि सुप्रिम सहकारी दर्ता गर्दा त्यस किसिमका कागजात नराखेको पाईएको छ ।
त्यस्तै मैत्रैय सहकारीलाई सुप्रिम सहकारी बनाएर नाम परिवर्तन गर्दा उपाध्यक्ष बाहेक अन्य सबै रुपन्देही भन्दा बाहिरका पदाधिकारी तथा सदस्यको नाम तत्कालीन डिभिजन कार्यालय रुपन्देहीमा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । सोही अनुसार सहकारी दर्ता गरेको भन्दै तत्कालीन सञ्चालक समिति र सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुखमाथि समेत प्रतिवेदनमा प्रश्न उठाएको छ ।
प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका कार्यालय प्रमुख यमबहादुर कुँवरले जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको प्रतिवेदनमा सहकारी दर्ता गर्दा सञ्चालक समितिका पदाधिकारीले पेश गरेको नागरिकताको ठेगाना कार्यक्षेत्र भन्दा बाहिर रहेको र कार्यक्षेत्रमा बसोबास प्रमाणित हुने बसाइसराइ, मतदाता सूची लगायतका कुनै पनि दस्तावेज समावेश नगरिएकोले दर्ता नै कानुनविपरीत भएको उल्लेख छ ।
२०७२ चैत ८ गते सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुख नेत्र घिमिरेले दर्ता गरी बेल्खु–१ ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको सञ्चालक समितिलाई सहकारी सञ्चालनको अनुमति दिएका थिए । सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरुङ बाहेक सचिव राजु वराल, कोषाध्यक्ष दिपेश पुन र सदस्यहरु सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई सबै कार्यक्षेत्रभन्दा बाहिरका थिए ।
बुटवलको मैत्रेय बचत तथा ऋण सहकारी संस्था र भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था एकीकरण हुँदा कार्यक्षेत्र थप गर्ने उद्देश्यले यी सहकारी संस्थाहरू अस्वाभाविक रूपमा एकीकरण भएको प्रतिवेदनमा देखिन्छ ।
प्रतिवेदनमा ‘सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको आन्तरिक बैठक र सभामा कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी र चितवनको सहारा बचत तथा ऋण सहकारीका कर्मचारी र प्रतिनिधिहरूको उपस्थिति किन भयो?’, भनी प्रतिवेदनमा गम्भीर प्रश्न समेत उठाइएको छ ।
बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि दिएका थिए दिपेश पुनले राजीनामा
सुप्रिम सहकारीका संस्थापक सचिव रहेका दिपेश पुनले बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि राजीनामा दिएको खुलेको छ ।
उक्त सहकारी समस्याग्रस्त भएपछि बचतकर्ताहरूले रकम फिर्ताका लागि ताकेता गर्न थालेपछि पुनले राजीनामा दिएर उम्कने प्रयास गरेको प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा २०७६ साल कार्तिक १६ गतेको साधारणसभाबाट सचिव बनेका दिपेश पुन र कोषाध्यक्ष सुरज श्रेष्ठले सहकारीको रकम हिनामिना भई आर्थिक समस्या देखिएपछि २०७९ मंसिर २४ गते राजीनामा दिएको उल्लेख गरिएको छ ।
पुन र श्रेष्ठको राजीनामापछि सहकारी सञ्चालक समितीले कुमार रम्तेललाई सचिव र आशिष आनन्दलाई कोषाध्यक्ष चयन गरिएको भेटिएको छ ।
सुप्रिम सहकारीमा कुल १० हजार ३९१ जना बचतकर्ता थिए । उनीहरूबाट १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ संकलन भएको थियो । सो मध्ये सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको प्रतिवेदनमा उल्लेख छ । राई नै अध्यक्ष रहँदा १३ करोड ७० लाख ९२ हजार २७० रुपैयाँ र ओम गुरुङ अध्यक्ष भएपछि ५ वटा कम्पनीमा ६४ करोड ७९ लाख ८३ हजार रुपैयाँ लगेको देखिएको छ ।
प्रतिवेदनअनुसार नेचर नेष्ट कम्पनीका निर्देशक रहेका कुमार रम्तेलका नाममा पनि राईले २ करोड ९० लाख रुपैयाँ ऋण दिएका थिए । पाँचवटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई सावा र व्याज गरि ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ ।
त्यस्तै सहकारीबाट विभिन्न पाँच वटा मितिमा गोरखा मिडिया नेटवर्कलाई १२ करोड १४ लाख ८४ हजार ८६० रुपैयाँ क्रृण दिइएको देखिन्छ । जीपी गु्रप एण्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरि १४ करोड ९९ लाख ५९ हजार ५२०, स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रालिमा तीन वटा मितिमा ६ पटक गरि १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए ।
त्यस्तै राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न तीन वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु राईको नाममा तीन फरक–फरक मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरि ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण दिइएको छ ।
त्यस्तै अन्य सञ्चालक तथा विभिन्न ५२ जना ऋणीहरूलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रुपैयाँ पनि सहकारीले उठाउन सकेको छैन । ती ऋणीहरूले पनि ब्याज वापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रुपैयाँ बुझाउन बाँकी देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar