काठमाडौं– त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन बनाउँदा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।
नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडे ।
यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए ।
आजदेखि सुरु भएको शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले यो शृङ्खलालाई आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातको रूपमा लिएको छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar