काठमाडौं– बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आज विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा.वि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
प्रवक्ता दाहालका अनुसार उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका–८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए । माविको अनियमितता भएको भन्ने सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको हो । परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारले जनाएको छ ।
यस्तै जनता मावि भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौता बमोजिम शर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारले ठहर गरेको छ ।
यसरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो रकम कायम गरी कैद सजायको मागदाबी समेत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar