शुभयुग संवाददाताप्रकाशित मिति: २०८० भाद्र २५, सोमबार (२ महिना अघि)
१४१५५ पाठक संख्या
धादिङ – धादिङमा चाडपर्व लक्षीत बजार अनुगमन सुरु भएको छ ।
सोमबारदेखि जिल्ला बजार अनुगमन टोलीद्वारा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज पहिलोदिन पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा १२ वटा पसल तथा फर्महरुमध्ये ३ वटालाइ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार अनुगमनका क्रममा जरिवानाबापत रु१५ हजार तिराइएको छ भने १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामाग्रीहरु जफत गरीएको छ । अब निरन्तर रुपमा अनुगमन गर्दै जाने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । ” आजको अनुगमनमा उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी म्याद गुज्रेका खाद्य सामग्री बिक्री गरेका, तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेका होटल तथा किराना पसलहरूलाई जनही पाँच हजारका दरले जरीवाना गरिएको तथा अनुगमनको क्रममा भेटिएका कमी कमजोरीहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ ” पराजुलीले भने ।
आगामी दिनमा निरन्तर अनुगमन गरिने तथा अनुगमनको क्रममा दिइएका निर्देशनहरूको कार्यान्वयन को अवस्था पनि मूल्यांकन गरिने, दिइएका निर्देशनको पालना नभएको पाईएमा अर्कोपटकदेखि थप जरिवाना गरिने पराजुलीले बताए ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उध्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र वेनिघाट रोराङ गाउँपालिका लगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको खाद्य सामाग्री भेटिएको तथा होटेलहरूमा सरसफाइ मापदण्ड बमोजिम नरहेको पाईएको थियो।