२०८१ बैशाख २४, सोमबार
काठमाडौं– संखुवासभा जिल्ला कारागार खाँदवारीमा दुई कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको घटनामा १५ जना विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात जना प्रहरी र आठ कैदी विरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।
घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् ।
सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको यातनाबाट मृत्यु भएको घटनामा १५ जना विरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको सरकारी कार्यालयले जनाएको छ ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको छ । फुटेजमा देखिए अनुसार दुवै कैदीलाई बाहिर कुटेर कारागारभित्र छिराइएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar