२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं – बैंकमा झन्डै दुई किलो सुन थुप्रिँदा गहना व्यवसायीहरूले भने सुन आयातको कोटा बढाउन ‘लबिइङ’ थालेका छन् ।
चाडबाडसँगै बिहेको सिजन नजिकिएको र माग बढ्ने भन्दै उनीहरूले सुनको कोटा बढाउन ‘लबिइङ’ थालेका हुन् । व्यवसायीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर सुनको आयात कोटा बढाइदिन आग्रह गरेका छन् । आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । आयात कोटा बढाएर कम्तीमा २५ किलो पुर्याइदिन उनीहरूले आग्रह गरेका हुन् । ‘सुनको आयात कोटा नबढेको करिब ३ वर्ष भयो । कोभिडअघि दिनको कोटा २० किलो थियो, आयात रोकिएपछि कोटा १० किलोमा झारियो । चाडबाड र सिजन आउन लागेकाले माग बढ्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले भने, ‘आयात कोटा बढाउने सन्दर्भमा ३/४ पटक बैठक बसिसक्यौं, राष्ट्र बैंकले बैंक र व्यवसायी सबैका लागि आयात खुला गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो । त्यो गर्न नसके भन्सार दर १५ प्रतिशतबाट घटाएर साढे १२ प्रतिशतसम्म पुर्याउने र दैनिक कोटा २० प्रतिशत गर्नुपर्छ ।’
महासंघका अनुसार कोटाले विकृति ल्याएको छ । भन्सार ग्यापका कारण तस्करी बढेको छ । वाणिज्य बैंक र व्यवसायीका लागि आयात खुला हुँदा प्रतिस्पर्धा भई मूल्य पनि घट्छ । गत आर्थिक वर्षमा १० ग्राम सुनको ८ हजार ५ सय भन्सार लाग्ने गरेको उपाध्यक्ष सोमानी बताउँछन् । अर्थात् करिब १० प्रतिशत भन्सार हुन्थ्यो । नयाँ आर्थिक वर्षबाट भन्सार दर बढेर १५ प्रतिशत पुर्याइएको छ । सुन बिक्रीवितरण निर्देशिका ०६८ मा सुन आयात गरेका आधारमा वाणिज्य बैंकलाई ०.५ प्रतिशत मुनाफा राख्न पाउने व्यवस्था गरेको छ । व्यवसायीले पनि सुन बिक्री गर्दा ०.५ प्रतिशतसम्म मुनाफा राख्न पाउने सरकारले कार्यविधि बनाइदिएको छ । तर बैंकहरूले १ प्रतिशतसम्म मुनाफा राख्दै आएको महासंघले जनाएको छ । ‘बैंक र व्यवसायीका लागि खुला हुँदा प्रतिस्पर्धाले मूल्य सस्तो हुन्छ, त्यही सुझाव अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकलाई दिएका छौं,’ उपाध्यक्ष सोमानीले भने, ‘त्यसो नभए अहिले भएको भन्सार दर १५ प्रतिशतबाट घटाएर साढे १२ प्रतिशतसम्म राखेर दैनिक कोटा २० प्रतिशत गर्नुपर्छर् भन्ने हो ।’ अर्थमन्त्रीले सुनको भन्सार दर घटाउन नसक्ने तर आयात खुला र कोटा बढाउनेमा विचार गर्ने आश्वासन दिएको सोमानीले जनाए । भदौमा दैनिक माग १५ किलोभन्दा बढी पुग्ने व्यवसायी बताउँछन् । माग बढेर २५ किलोसम्म पुग्ने महासंघको दाबी छ । तर, वाणिज्य बैंकको सुन भने बिकेको छैन ।
नेपाल बैंकर संघका अनुसार नयाँ आर्थिक वर्षमा २ सय किलो सुन आयात भएकामा ५ किलो मात्रै बिक्री भएको छ । ‘बैंकहरूले साउनमा २ किलो सुन आयात गरे । गत शुक्रबारसम्म १ सय ९५ किलो सुन बैंकमै छ । बिक्री भएको छैन,’ एक बैंकरले भने । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि गत चैतमा पनि वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेका थिए । अहिले फेरि स्टक देखिएको छ । तर व्यवसायीले आयात कोटा बढाउनुपर्ने बताउँदै आएका छन् । साउनमा बजार सुक्खा भए पनि भदौदेखि माग बढ्ने महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जनाए । विशेषगरी विवाहको सिजनमा सुनको माग बढ्छ । त्यस्तो बेला अवैध रूपमा सुन भित्रिने गरेको उनले बताए । ‘कोटा नबढे सिजनमा १० किलोले पुग्दैन । बजारमा कालोबजारी बढ्छ । त्यही भएर कोटा बढाउन माग गरेका छौं,’ उनले भने, ‘डलर खर्च हुने भन्दै राष्ट्र बैंकले राम्रो संकेत दिएको छैन । यद्यपि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल र प्रयास जारी छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि सुन आयातको कोटा बढाउनेबारे छलफल भए पनि निर्णयमा नपुगेको बताएको छ । ‘आयात कोटा बढाउने, नबढाउनेमा छलफल जारी नै छ । डलरको अवस्था पनि हेर्नुपर्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैले निर्णय गरेर पनि हुँदैन,’ एक सहसचिवले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंकसहितको छलफल भएको छ तर टुंगोमा पुगेको छैन ।’ एक साताअघि सुन आयातको कोटाका विषयमा छलफल भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जनाए । सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति राष्ट्र बैंकले वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरूले मुख्यतः दुबई, हङकङ, स्विट्जरल्यान्ड, सिगापुरलगायत मुलुकबाट आयात गरी बिक्री गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar