बेनी – म्याग्दीको मंगला गाउँपालिका – १ कुहुँका रनबहादुर खत्रीले चारसय बोट सुन्तला रोपेका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित भएका थिए । गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुन्तला र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गरेका छन् । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दै आएका छन् ।
‘बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ’, उनले भने ।
खत्रीले मौरीपालनसमेत गर्न थालेका छन् । व्यावसायिक बाख्रापालन पनि गर्दै आएका उनको फार्ममा करिब ३० बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ । ‘फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने अनुमान छ’, खत्रीले भने । कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar