ताप्लेजुङ – ताप्लेजुङमा ५० वटा घर बाढी पहिरोको जोखिममा परेका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा र मैवाखोला गाउँपालिकामा २१÷२१ वटा घर र पाथीभरा याङवरक गाउँपालिकामा एउटा गरी ५० घर परिवार बाढी र पहिरोको जोखिममा परेका हुन् ।
शनिवारदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ताप्लेजुङमा मानवीय तथा भौतिक क्षति भएको छ । ताप्लेजुङमा अहिलेसम्म पहिरोमा परि तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन वटा पक्की मोटरेबल पुलमा पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै, ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच वटा झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिरिजङ्गा गाउँपालिकामा पाँचवटा गाई, भैँसी दुई वटा, आठ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरी नौ घरमा पूर्णरुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै, सिदिङवामा एक र सिरिजङ्गामा एक गरी दुई वटा विद्युत् गृहमा पूर्णरुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र वडा नम्बर ७ को खेवाङमा गरी सात वटा सरकारी कार्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ ।
सिरिजङ्गा –८ मा रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै, एउटा कुखुरा फर्ममा पूर्ण रुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एउटा सामुदायिक विद्यालयसमेत बाढीले बगाएको छ ।
ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिइने, घाइतेको उपचार गर्ने
कोशी प्रदेशले बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतवार हिजो बेलुका बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट ज्यान गुएमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालयले जनाएको छ ।
घाइतेको उपचार गर्ने, भौतिक संरचना ९घर० पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध भएका बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय भएको मन्त्री मेन्याङ्बो बताउनुभयो । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिरोले सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयले जनाएको छ ।
सडक अवरुद्ध हुँदा राहत वितरण र उद्धारमा सास्ती
ताप्लेजुङमा आन्तरिक तथा बाह्य गाडी सञ्चालन हुन सकेको छैन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने गाडी सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए ।
तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो र लामो दूरी छुट्ने गाडी ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar