काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्ड, पूर्व माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. भट्टराई लगायत विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि माओवादीका पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि आज मंगलबार सुनुवाइ हुन लागेको हो । उनिहरुबिरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका थिए ।
सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।
त्यस्तै रिट निवेदकहरूले सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गराउनु हुन्न भन्ने तथ्य ढाँटी आफूहरूजस्तालाई बाल सैन्यका रूपमा भर्ती गरी सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भई अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानुनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रूपमा कानुनको दायरामा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्सँग समन्वय गरी संयुक्त राष्ट्रसंघीय आयोग स्थापित गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन परमादेश पनि माग गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar