तनहुँ – तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो ।
गाउँपालिकाले सात वटै वडामा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए । उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।
उनले भने, ‘व्यावसायिकरुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने किसानको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।’ प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।’
उनका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रूपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालन गरिएको छ । उनले भने, ‘यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।’
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उनले बताए । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरूसँग नरहेको डा. शाहको भनाइ छ । उनका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएका पशुको उपचार पनि भइरहेको छ ।
जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० वटाभन्दा बढी पशुमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् ।
लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. शाहले बताए । उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar