काठमाडौं– भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए ।
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
’जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ’नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,’ उनले भने । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए ।
सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री दाहाल आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उनले मध्यप्रदेशका राज्यपालसँग भेटवार्र्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar