काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी प्रकरणमा संलग्नमध्येका थप एक पुरुषलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ । मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् । सोही अभियोगमा प्रतिवादी बनाइएका हरिभक्त बिहीबार काठमाडौंबाटै पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले महर्जनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी दिए । काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि जेठ १० मा सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।यही प्रकरणमा आरोपित बनाइएकामध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १२ जना अझै फरार छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar