तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गरेकी थिइन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।
“बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनले गुनासो गरिन्, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन् ।
“दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उनले भनिन्। तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन् । बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ ।
रानाले मौरीपालनसँगै दालचिनी खेती गरेकी छन् । दालचिनीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । उनले भनिन्, “बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ । तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।”
बन्दीपुर गाउँपालिका–३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान छन् । बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ । “बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने ?”, उनले भने, “ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्यो ।”
खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ । “बाँदर आतङ्कले आजित भइसक्याँै, खै कसले हाम्रो पीडा सुनिदिने हो”, उनले भने, “नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो ।” बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उनको माग छ ।
बन्दीपुर गाउँपालिका–२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए । उनले भने, “वर्षभरि दुःख गरेर खेती गर्यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ । दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ । जग्गा बाँझो हुने क्रम बढेको छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ ।
व्यास नगरपालिका–१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ । अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ । “बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन”, उनले भने । व्यास नगरपालिका–६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गरे । उनले भने, “मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो ।”
शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए । “बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र ?”, उनले भने, “कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै ?”
बाँदर आतङ्कबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउँछन् । तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उनले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे ।
“चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ । बाँदरले घर–घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ”, उनले भने, “अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर ? सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar