काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन् ।
नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए ।
मन्त्री ज्वालाले भने, “नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ ।”
“एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उनले भने “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गछौँ र छिटै समाधान गर्छौं ।”
उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताए । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो ।
आउँदो दशैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुङ्गा सडक आयोजनाले जानकारी दिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ ।
यसैबीच विस्तारको चरणमा रहेको अर्काे नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताएका छन् । सडक अनुगमनका क्रममा आज उनले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध पनि गरेका छन् ।
उक्त सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताए । उनले कामलाई तीव्रता दिएर निर्धारित लक्ष्य पूरा गर्ने कुरामा ध्यान दिन निर्देशन दिए ।
उनले सबैसँग समन्वय गरेर निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राजधानी जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । यो सडक विश्वबैंकको सहयोगमा बनिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar