बागलुङ– बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् ।
विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पु¥याएको घर बनाउनका लागि प्राप्त हुने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माण पश्चात् ८२ बाढीपीडितले रु. चार लाखका दरले पाउनुपर्ने रकममध्ये जम्मा ५० हजारका दरले मात्रै पाएकामा दोस्रो किस्ता रकम सात महिनादेखि पाउन नसकेका हुन् ।
नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।
“ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको रहेछ ३७ जनाले ज्यान गमाएका र १५ जना बेपत्ता भएका रहेछन्, घर बनाउनका लागि प्रक्रिया पुगेका ८२ पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट सात महिनाअघि मात्रै पहिलो किस्ताबापत रु ५० हजारका दरले लिएका रहेछन्” उनले भनिन् “दोस्रो किस्ताका लागि नगरपालिकाले माग गरेको छैन, यसका लागि मापदण्डअनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ, उक्त नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितहरुको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ताको रकम अड्किएको छ ।” नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको प्रजिअ श्रेष्ठको भनाइ थियो ।
विसं २०७७ मा बागलुङ जिल्लालाई मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सूचीकृत गरिएकाले ढोरपाटनसहित जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित छ पालिकाका बाढी तथा पहिरोपीडितले घर बनाउन नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्णरुपमा पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले विपद्का बेला कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरेपनि सबैभन्दा बढी पीडित रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी आएको उनको भनाइ थियो।
ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताबापत पाउनुपर्ने रु दुई लाखका दरले रु एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको थियो । बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधकि खटाउने तयारी गरिएको छ तर मुल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढीग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कन पश्चात जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar