काठमाडौं– जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ ।
प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् ।
घोषणा भएको प्रारम्भिक टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा रहेका छन् । यसैगरी सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा छन् ।
नेपालको प्रशिक्षक भोलिदेखि सुरु हुनेछ ।
जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ ।
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ । घरेलु मैदानमा प्रशिक्षण गरेपछि नेपालले विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ । नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ ।
जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन् । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन् ।
नेपालसहित ओमान र स्कटल्यान्डले लिग–२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए । यस्तै युएई र अमेरिकाले लिग–२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए ।
छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन् ।
विश्वकप छनोटमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई सहभागी हुँदैछन् ।
विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ । पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन् ।
सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar