धेरैचोटि हिँडे म वाल्यवयमा बाटो सलाङघाटको
ठान्ने गर्छु पवित्र चन्दन अहा माटो सलाङघाटको
सामुन्ने त्रिशुली नदी प्रकृतिको मोती सलाङघाटको
शोभा सुन्दर सिद्धलेक शिरको टोपी सलाङघाटको
गङ्गाको तिरमा खडा पिपलको साथी बनेको बर
छर्ने गर्छ शमी रहेर नजिकै हावा मीठो हर्हर
विद्याधाम जलेश्वरी सकलकी दाता बसेकी जहाँ
शिक्षा ज्ञान कला दिने जगतकी माता बसेकी जहाँ
पिप्ले फाँट हराभरा सँगसँगै हाँस्दैरहेका गरा
बाला धान झुलाउँदै मनुजकी अामा बनेकी धरा
गुड्ने मोटर राजमार्ग नजिकै पारी सलाङघाटको
यात्रा पूर्ण विकास उन्मुख छ रे जारी सलाङघाटको
खिर्खिरेसित झुन्डिँदै तुइनमा तर्थ्यौं बडो हौसिँदै
बेनीघाट मलेखु घुम्न मनले इच्छा अनेकौं लिँदै
झोलुङ्गे पुलले थप्यो सहजता मिल्दैगयो राहत
पक्की होस् पुल एक अामजनता गर्छन् पुकारा सब
शिक्षा सेवक भोजराज तगडा अर्यालवंशी गुरु
अोजश्वी प्र.अ भै गरे विगतमा सत्कर्म धेरै शुरु
जैले देख्छु अदम्य जाँगर अहा ऊर्जासँगै फुर्तिला
प्यारा छन् सबका सलाम मनले अर्पन्छु मैले सदा
मेरो धाम जलेश्वरी हुनगयो क ख चिनेको त्यहीं
केही गर्न र पुग्न सिक्न पहिलो बाटो हिँडेको त्यहीं
छातीभित्र छ खात खात अघिका छायाँ सलाङघाटको
अात्माभित्र अजम्वरी हुनगयो माया सलाङघाटको
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar