प्रतिनिधिसभा शून्य समयः किसानका समस्यादेखि नाका खुलाउने विषय उठान
न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ ७, आईतबार (१ साल अघि)
२५९ पाठक संख्या
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छन् ।
सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच सय बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
उनले गत वर्ष पनि पीडित भएका किसानलाई बीमा कम्पनीले बीमा रकम उपलब्ध नगराएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराए । यस्तै सिम्रौनगढ पुरातात्विक महत्वको स्थान भएकाले विश्वसम्पदा सूचीमा राख्नका लागि पहल गर्न मैनालीले माग गरे ।
सांसद गोकुलप्रसाद बास्कोटाले गत साताको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बाली र तरकारी नष्ट भएकाले बाली बीमा र तटबन्धको प्रबन्ध गर्न माग गरेका छन् ।
सांसद अम्मरबहादुर रायमाझीले सामुदायिक विद्यालयमा देखिएका समस्याबारे ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयका शिक्षक न्यून सेवासुविधा र अनुदानका भरमा काम गरिरहेका उल्लेख गर्दै उनले अब बन्ने शिक्षा ऐनमा सेवासुविधा, दरबन्दीबारे स्पष्टरुपमा खुलाउन माग गरे ।
सांसद अनिसा नेपालीले सरकारले उखु किसानलाई उत्पादनमा निश्चित प्रतिशत अनुदान दिने भनेर पटकपटक निर्णय गरे पनि उनीहरुले उत्पादनको मूल्य पाउन नसकेका बताए ।
सांसद कुसुमदेवी थापाले पहाडी क्षेत्रमा बाँदरले किसानको बाली नष्ट गरिरहेकामा यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायबाट पहल गरिनुपर्ने बताए । सांसद ऋषिकेश पोखरेलले मोरङका सात ठूला नदीमा हरेक वर्ष क्षति हुने गरेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गरे ।
सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लाबाट चीनको तिब्बत नाका जोड्नेगरी सडक निर्माणका लागि यसै वर्षको बजेटमार्फत व्यवस्था गरिनुपर्ने बताए । अर्का सांसद उर्मिला थेबेले ताप्लेजुङको ओलाङचुङ्गोला नाका अझै खुल्न नसकेका कारण त्यस क्षेत्रका बासिन्दा समस्यामा परेको बताइन् ।