२०८१ आश्विन ३०, बुधबार
काठमाडौं – नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । आज पक्राउ परेकासहित हालसम्म प्रहरीले १० जनालाई पक्राउ गरिसकेको छ ।
यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ रहेका छन् । पक्राउ पूर्जी जारी भएका नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय ६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।
पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar