२०८१ आश्विन ३०, बुधबार
विश्वमा पहिलो पटक माउन्टेन टप ‘लाइट फेडेलिटी’ (लाई-फाई) लेजर फाइभजीको सफल परीक्षण गरिएकाे छ ।
लाई-फाई प्रविधिमा काम गरिरहेको एनएभी टेक (NAV Tech) कम्पनीसँग सहकार्य गरेर वैज्ञानिक सोनम वाङचुकले यस्ताे इन्टरनेट सेवाको परीक्षण गरेका हुन् । उनले भारतस्थित स्टुडेन्ट्स एजुकेसन एन्ड कल्चरल मुभमेन्ट अफ लद्दाख (सेक्मोल) विद्यालयमा इन्टरनेट पुर्याएकाे बताइएकाे छ । उनले आफ्नो युट्युब च्यानलमा यस परीक्षणकाे भिडिओ हालेका छन्, जहाँ उनले कसरी त्यो काम गर्न सम्भव भयो भन्ने कुराको बेलिविस्तार गरेका छन् ।
सो भिडिओमा उनले यस परीक्षणलाई ‘माउन्टेन टप अप्टिकल वायरलेस कम्युनिकेसन टेक्नोलोजी’ले सम्बोधन गरेका छन् । उनले यसमा इन्टरनेट सेवाका लागि लाई-फाई प्रविधि प्रयोग गरेका छन् । परम्परागत टावरका साटो अप्टिकल वायरलेस कम्युनिकेसन प्रविधिमार्फत पहाडी इलाकामा कुनै पनि टेलिकमको इन्टरनेट सेवा पुर्याउन सम्भव बनाएकाे उनले दाबी गरेका छन् । यो प्रविधि एलन मस्कको ‘स्टारलिङ्क’, अमेजनको प्रोजेक्ट ‘कुइपर’ र अल्फाबेट (गुगल)को ‘लुन’ प्रविधिभन्दा पनि राम्रो र सस्तो भएको उनकाे दाबी छ । ती प्रविधिले प्रदूषणमा ठूलो भूमिका खेल्ने साथै अन्तरिक्षलाई फोहोरको थुप्रो बनाउने उनकाे आरोप छ ।
तर ‘माउन्टेन टप अप्टिकल वायरलेस कम्युनिकेसन टेक्नोलोजी’ परम्परागत टावरको तुलनामा प्रदूषण कम गर्ने, कभरेज पनि बढी हुने र लागत कम हुने उनले तर्क गरेका छन् । “साढे एक वर्ष परीक्षण गरेपछि पहाडी इलाकामा हुने इन्टरनेटको व्यवहारिक समाधान यो प्रविधि हो भनेर भन्न सक्छु,” उनले भिडिओमा भनेका छन्, “दूरदराजको गाउँमा फाइभजी वा हाई ब्याण्डविथ इन्टरनेटसँग जोड्ने यो सस्तो र सजिलो माध्यम हो । यसलाई नेपाल, पाकिस्तान, अफगानिस्तान लगायतका देशका पहाडहरूमा प्रयोग गर्न सकिन्छ ।”
उनले कसरी सफल परीक्षण गरे ?
कोरोनाकाल अघिसम्म त्यस ठाउँमा इन्टरनेट थिएन । तर कोरोना महामारी व्याप्त भएपछि विद्यालय बन्द भयो । अनलाइनबाट अध्यापन गराउन पर्ने भएपछि उनीहरूलाई इन्टरनेटको आवश्यकता पर्याे । त्यही आवश्यकताले जन्माएको हो यो प्रविधि । तर हिउँ परिरहने ठाउँ, उपत्यका, वरपर ठूला पहाड । यी सबै कुराले अप्टिकल फाइबर केबल मार्फत इन्टरनेट पुर्याउन सम्भव थिएन ।
“समथर ठाउँमा टाढा टाढासम्म इन्टरनेटको कभरेज दिन अग्ला अग्ला टावर बनाइन्छ । तर यो पहाडलाई किन समस्याको रुपमा हेर्ने?,” भिडिओमा उनी भन्छन्, “यही पहाडलाई टावर बनाउन सकिन्छ । पहाड समस्या होइन, समाधान हो । यसलाई समाधानको नजरले किन नेहर्ने ?” उनी अगाडि भन्छन्, “पहाडभन्दा ठूलो टावर के हुन सक्छ ? सामान्यतः टावर ६०/७० फिट अग्लो हुन्छ । तर हाम्रो पहाडको उचाइ त ६००/७०० फिट छ । यो हाम्रो सम्पत्ति हो ।” यस्तो सोचपछि उनी टेलिकम कम्पनी जान्छन् । उनीहरूलाई मनाउन केही समय लाग्छ । तर प्रश्न विद्युतको आउँछ ।
“टावर चलाउन कम्तीमा ७ देखि १० किलोवाट विद्युत चाहिने टेलिकमले बताएपछि सोलारबाट चलाउन सक्ने प्रविधिबारे खोज्दै जाँदा लाई-फाईबारे थाहा पाएँ,” उनले भिडिओमा सविस्तार भनेका छन्, “भारतको गुजरात रहेर यस प्रविधिमा नै काम गरिरहेको ‘एनएभी टेक’ नामको कम्पनी पनि फेला पारेँ । सो कम्पनीसँग कुरा गरेपछि सँगै काम गर्न राजी भएँ ।” उनीहरूलाई १०० वाटको विद्युत भए पर्याप्त हुन्थ्यो । तर टेलिकमले पुन: तापक्रमको समस्या औंल्यायो । सामान्यतः लद्दाखको तापक्रम -३०/४० डिग्री सेल्सियससम्म पुग्छ । यही कारण ब्याट्री चाँडै बिग्रने समस्या टेलिकमले बताएको थियो ।
तर लद्दाखमा आगो नबाली अथवा हिटिङ नगरी नै त्यस्तो जाडोमा समेत घरलाई १०/२० डिग्री सेल्सियसमा राख्न सक्ने प्रविधि प्रयोग भइसकेको थियो । त्यसपछि वैज्ञानिक वाङचुक र उनकाे टोलीले त्यहाँ भएको रिसर्च सेन्टर हिमालयन इन्स्टिच्युट अफ अल्टर्नेटिभमा ‘ब्याट्री हाउस’ बनाए । जहाँ बाहिर जति तापक्रम भएपनि भित्र १०/१५ डिग्रीको तापक्रम हुन्थ्याे । त्यति भएपछि ब्याट्री सुरक्षित हुन्थ्यो । यी सबै काम सकेपछि उनको र नभ टेकको टोली सेक्मोल पहाड उक्लिए । सिस्टम जडान गरे । लेजर (प्रकाश)को टेस्ट गरे । उनीहरुले माउन्टेन टप (सेक्मोल पहाडको टुप्पो) र स्कुलको छानोमा लेजर बिममा आएको इन्टरनेट सिङ्नल समात्न सक्ने रिभिर जडान गरेका थिए ।
“सेक्मोल पहाडदेखि साढे तीन किलोमिटर पर राजमार्गमा जियो टेलिकमको टावर छ । त्यहाँबाट माउन्टेन टपमा भएको अप्टिकल सिङ्नल रिसिभरले लेजर बिमबाट इन्टरनेट सिङ्नल लिन्छ । लेजर बिममा इन्टरनेट सिग्नल छुपेर रहेको हुन्छ,” उनले सो प्रविधिको व्याख्या गर्दै भनेका छन्, “त्यो रिसिभरले एक टावरको जस्तै काम गर्छ । र यसले पुन: लेजर द्वारा आफूले लिएको सिङ्नल फ्याक्छ । त्यसपछि विद्यालयको रिसिभरले पहाडमा राखिएको रिसिभरले फालेको डेटा लिन्छ । रिसिभरमा टेलिकमको टावरमा हुने माइक्रोसेल्स राखिएको हुन्छ । त्यसैले रेडियोवेभबाट इन्टरनेट दिने गर्छ ।”
यसरी प्रणाली जोड्ने सबै काम सकेपछि विद्यालयम इन्टरनेटको गति जाँच गर्दा करिब ५०० एमबीपीएस आएको भिडिओमा देख्न सकिन्छ । जुन लद्दाखमा अहिलेसम्मकै उच्च इन्टरनेट गति भएको बताएका छन् । लेजर बिम कम्प्युनिकेसनको रेन्ज १० किलोमिटरसम्म हुन्छ । त्यस्तै १० जीबीपीएससम्म डेटा टान्सर्फर गर्न सक्ने क्षमता हुन्छ । तर सेक्मोलमा अप्टिकल फाइबर केबल मार्फत इन्टरनेट पुर्याउनु परेको भए करौडौं लाग्ने उनले उल्लेख गरेका छन् । उनो सो भिडिओ अनुसार सामान्यतया एक किलोमिटर अप्टिकल फाइबर केबल बिच्छ्याउँदा एक करोड खर्च हुन्छ । तर त्यसको तुलनामा माउन्टेन टप लेजर लाईफाई प्रविधि चार गुणा सस्तो हुन जान्छ ।
यो सफल परीक्षण पछि लद्दाख र यस्तै हिमाली/पहाडी क्षेत्रमा, जहाँ इन्टरनेट पुगेको छैन, त्यहाँ इन्टरनेट सेवा दिन नयाँ कम्पनीको विचार आएको उनले बताएका छन् । यसरी यो प्रविधि मार्फत पहाडी क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्दा केवल बिच्छ्यान पहाड खन्नु नपर्ने उनी सुनाउँछन् ।उनले पहाडको टुप्पोमा राखेको उक्त रिसिभरको रेखदेख गर्ने बारे पनि विचार सुनाएका छन् । यसका लागि त्यही पहाडी इलाकामा बस्ने भेडा गोठालोलाई प्रयोग गर्न सकिने उनको विचार छ । त्यस्तै भारतीय सेनाको लद्दाख स्काउट्स रेजिमेन्टका अवकाश प्राप्त सेनालाई समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।
के हो लाई-फाई प्रविधि?
प्रकाशको किरणबाट डेटा ट्रान्सफर हुने प्रविधिलाई लाई-फाई अर्थात् लाइट फेडेलिटी प्रविधि भनिन्छ । यो एउटा यस्तो वायरलेस इन्टरनेट प्रविधि हो, जो प्रकाशको किरणबाट प्रसारण हुन्छ । यस प्रविधिमा प्रकाश (लाइट)को प्रयोग गरी डेटा प्रसारण गर्ने गरिन्छ ।
अहिले हामीले प्रयोग गरिरहने वाई-फाई रेडियो वेभमा आधारित हुन्छ । अर्थात वाई-फाईमा हुने रेडियो वेभले गर्दा डेटा प्रसारण सम्भव हुन्छ । तर, रेडियो वेभका केही सीमितता छन् । एउटा बिन्दुमा गइसकेपछि रेडियो वेभको स्पिडमा रोक लाग्छ । परिवर्तनशील समयमा हाम्रो आवश्यकता बढेसँगै तीव्र गतिको इन्टरनेट स्पीड पनि आवश्यक पर्छ । जसलाई लाई-फाई प्रविधिले परिपूर्ति गर्ने विद्धानहरूको तर्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar