२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् ।
“नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन । हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं”, प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रको समस्या गम्भीर छ । तर हामी आतंकित हुनुपर्ने अवस्था छैन । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।”
कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ ।
अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले बताए ।
संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
“विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन”,उनले भने ।
अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमासमेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरुले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहाललको दाबी छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ ।
सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए । कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ । साथै, अर्थतन्त्रका बृहत् आर्थिक सूचक सकारात्मक बनाउन गरिने पहलबाट तरलता अभाव टारिने र वैदेशिक विनिमय सञ्चिति बढ्दै जाने हुनाले यसतर्फ सरकार गम्भीर रहेको दाहालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar