२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– काठमाडौंको भृकृटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् ।
विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।
पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।
पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उनले बताए । अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर (सुकाएर) पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ ।
उनले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ ।
पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar