२०८१ आश्विन २७, आईतबार
ढोरपाटन– बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ ।
बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानमेत दिन्छन् ।
पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन् । यसले उत्पादनको प्रवर्द्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने रकम बचत गराइदिएको छ । गाउँघरमा खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ । यतिमा मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम बनेको छ ।
सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ । खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन् । यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन् ।
यसले आलुको मूल्य दोब्बर पर्न थालेको छ । सीप सिकेर गाउँघरमा उत्पादित वस्तु प्रशोधन गरी नयाँ परिकार बनाउन थालेपछि आफूहरुको दैनिकी नै बदलिएको स्थानीय तारादेवी पुनले बताइन् ।
गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्षसमेत रहेकी पुनले आर्थिकरुपमा पनि महिला बिस्तारै मजबुत बन्दै जान थालेको बताइन् । पहिले अरुकै भरपर्ने स्थिति रहेको सुनाउँदै सीपले महिलालाई आत्मनिर्भर बनाउँदै गएको पुनको भनाइ छ । गाउँका महिला पनि पछिल्लो समय उत्पादन र व्यवसायमा लागेको पुनले बताइन् ।
सिस्नोको पाउडर बजारीकरणमा नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । चालू आर्थिक वर्षमा दुई हजार किलो सिस्नो पाउडर तयार गरी बिक्री भइसकेको छ । बजार मागअनुसार माग पूरा गर्न कठिन भएको पुनको भनाइ छ । माग बढ्दै गएपछि खाली जमिनमा सिस्नो रोप्ने तयारी भइरहेको पुनले बताइन् ।
सिस्नो पाउडर निर्माणको तालिम पाउनुअघि घर छेउछाउ, खेतबारी तथा खरवारीमा भएका सिस्नो मास्न आगो लगाउने, उखेल्ने स्थानीय अर्थोपार्जनसँग जोडिएपछि संरक्षण र विस्तारमा लागेका छन् । दमेकको सिस्नो पाउडर नेपालका ठूला सहर, ठूलो होटेलदेखि विदेशबाट पनि माग भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । चितवन, काठमाडौँ, पोखरा र हङ्कङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए ।
उपप्रमुख शर्माले भने, “यहाँका नागरिकले आम्दानीका लागि नगरपालिकाले एउटा प्रयास ग¥यो, त्यो प्रयास सफल हुँदै गएको छ, दिदीबहिनीलाई तालिम र केही मेसिनको व्यवस्था गरेका थियौँ, उहाँहरु उत्पादनमा लाग्नुभयो, अहिले धेरै राम्रो भएको छ, उहाँले बेच्नसक्ने आफैँ बेच्नुहुन्छ, नत्र नगरपालिकाले त्यसको प्रबन्ध मिलाएको छ ।”
प्रतिकेजी छ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइरहेको छ । सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमकको परिचय बनेको छ । बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुपैयाँमा बिक्री हुन्छ ।
स्थानीय कृष्ण पुनले यो क्षेत्रमा धान, गहुँ र मकै कम उत्पादन हुने हुँदा आफूहरु आलु उत्पादनमा लाग्दै आएको बताए । सिस्नोको माग बढ्न थालेपछि आलुसँगै बाँको र सिस्नो खेती विस्तार गर्न थालेको उनले बताए । अहिले गाउँका धेरै स्थानीय आलु र सिस्नो खेतीमा लाग्न थालेको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar