पर्वत – पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।
लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ । ‘फौजी कीरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण कीराको प्रभाव नदेखिएको उनको भनाइ छ ।
“यस वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ”, उनले भनिन् –“अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।”
गोरखामा २०७७ सालमा अमेरिकन फौजी कीराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो । उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताइन् । पछिल्लो समय पर्वतमा यसको जोखिम बढ्दै गएको छ ।
कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आइपिएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् ।
यसको व्यवस्थापनका लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायत उपाय अपनाउन थापाले सुझाव दिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar