मनाङ – हिमाली जिल्ला मनाङको चार पालिकामध्ये तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । दुई पालिकामा करिब दुई वर्षदेखि निमित्तको भरमा नै सेवा प्रवाह भइरहेको छ ।
मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । करिब दुई वर्षअघि यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएसँगै निमित्तको भरमा चलिरहेको हो ।
नार्पाभूमि प्रशासकीय अधिकृत उमेश पाख्रिनको भरमा सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । नार्पाभूमिका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले विकट क्षेत्र भएर कर्मचारी आउन नमान्दा हालसम्म प्रमुख प्रशासकीय अधिकृत आइनपुगेको बताए ।
विकट क्षेत्रमा कर्मचारी आउन पनि सकस भएपछि जनताको सेवा कसरी गर्ने भन्ने छुट्टै समस्या सिर्जना हुने गरेको उनले बताए ।
सम्बन्धित निकायले दुर्गम होस् वा सुगम सबै स्थानमा रिक्त रहेको कर्मचारी पूर्ति गरिदिए सेवाग्राहीलाई सेवा दिन सहज हुने उनको भनाइ छ ।
सहज नभएको स्थानमा नै कर्मचारी आइनपुग्दा विकट क्षेत्रमा सेवा प्रवाहमा पनि समस्या हुने गरेको उनले बताए ।
कर्मचारी अभावले गर्दा चुनावमा गरिएका प्रतिबद्धता र लामो दूरीबाट पैदल हिँडेर सेवा लिन आउने सेवाग्राहीलाई कहिलेकहीँ फर्काउनुपर्दा आफँैलाई दुःख लाग्ने गरेको उनले बताए ।
त्यस्तै ङिस्याङ गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा नै सञ्चालन भएको लामो समय भइसकेको अध्यक्ष कान्छा घलेले जानकारी दिए ।
त्यसैगरी सदरमुकामकै पालिका चामे गाउँपालिका पनि केही महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । पालिकाको कार्यकारी सरुवा भएपछि हालसम्म कोही पनि आइनपुगेको गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले जानकारी दिए ।
कर्मचारीको अन्यौलताले विकट क्षेत्रमा बजेट फ्रिज र विकासका कार्यमा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । सम्बन्धित निकायले समयमा ध्यान पु¥याएमा सहज हुने स्थानीय बताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar