काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन ।
नेकपा (एमाले)का अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएका अवस्थामा हाल केन्द्रको सत्तागठबन्धनमा रहेका दलको स्पष्ट बहुमत हुने भए पनि सरकारको नेतृत्व पहिले कसले गर्ने सम्बन्धमा सहमति जुट्न नसकेको बताइएको छ ।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ भने आठ जना सदस्य रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले पहिला सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।
माओवादीका आठमध्ये एक जना सभामुखको जिम्मेवारीमा छन् । काठमाडौंमा शीर्ष नेतालाई भेटेर कुरा राख्ने गरी आफूहरू काठमाडौं पुग्न लागेको बताउँदै प्रदेशसभा सदस्य विन्दुकुमार थापाले २७ सिट रहेको कांग्रेसको दाबी स्वाभाविक भएको बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले यसअघि कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरूले सहयोग गरेको बताउँदै अब बन्ने सरकारको पहिलो नेतृत्व माओवादीले पाउनु न्यायसङ्गत भएको बताउँछन् ।
शीर्ष नेताहरूसँग छलफल भइरहेको बताउँदै उनले मौखिकरुपमा सकारात्मक सङ्केत आएको बताए । संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar