काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।
मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रोमा वैशाख ९ गते उल्लेख थियो ।
पात्रो प्रकाशन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर विभागले समितिबाट स्वीकृति नलिइ भित्तेपात्रो प्रकाशन गरेको भेटिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । यस विषयमा गृह मन्त्रालयका अधिकारीसँग कुराकानी भएको पनि उनले बताए ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित भित्तेपात्रो प्रकाशन गर्दा गम्भीर त्रुटी भएको भेटिएको भन्दै हाल उक्त भित्तेपात्रे वितरणमा रोक लगाइएको जानकारी दिए ।
आफूखुसी भित्तेपात्रो प्रकाशन गर्दा तिथि, मिति, चाडपर्वमा फरक भएर विवाद आएपछि मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश स्वीकृत गरी पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्नेले समितिसँग स्वीकृत लिनुपर्ने व्यवस्था गरेको थियो ।
गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा प्रकाशन भएको थियो । नेपाल राजपत्रमा समितिको गठन आदेश प्रकाशन भएपछि विसं २०७९ देखि प्रकाशन भएका सबै पात्रो, भित्तेपात्रो र गोजीपात्रोले समितिसँग स्वीकृति लिनुपर्छ ।
विभागले भने भित्तेपात्रो प्रकाशनमा त्रुटी भएको भन्दै सुधार गरिने प्रतिबद्धता जनाएको छ । विभागले तीन हजार भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ । विभागले स्थापना कालदेखि नै पञ्जीकरण, राष्ट्रिय परिचय पत्रलगायत जानकारीमूलक सूचना राखी भित्तेपात्रो प्रकाशन गर्दै आएको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar