२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको संस्था घटाउन राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा नै प्रदान गरेपछि धमाधम मर्ज हुन थालेका हुन् । विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउन मर्जरमा जोड दिईरहेको छ । वाणिज्य बैंक र लघुवित्तलाई मर्जरका माध्यमबाट संख्या घटाउन राष्ट्र बैंकले प्रोत्साहन पनि गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षमार्फत् नै निरन्तरता दिएको थियो । पुस मसान्तभित्र एकीकृत कारोबार गरे वाणिज्य बैंक र वित्तीय संस्थालाई विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो ।
राष्ट्र बैंकले दिने सहुलियत पुस मसान्तमा सकिने भएपनि म्याद थपका लागि लघुवित्तका सञ्चालकहरु लविङ गरिरहेका छन् । लघुवित्तका सञ्चालकहरुले मर्जरमा गएका लघुवित्तलाई सहुलियतको व्यवस्था असार मसान्तसम्म पुर्याउन राष्ट्र बैंक पुग्ने गरेका छन् ।
हालसम्म १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त, साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त, डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त, नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त, धौलागिरी लघुवित्त र खप्तड लघुवित्त, नयाँ सारथी लघुवित्त र विजय लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको हो ।
स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच पुस १८ गते प्रारम्भिक सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । तर, डीडीए रिपोर्टमा फरक आएमा सोही बमोजिम मर्ज हुने भनिएको छ ।
दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकको स्वीकृति पश्चात् ६ महिना अर्थात् जेठ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ ।
मर्जरपश्चात् स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समता लघुवित्तका सीईओ डा. मदन घिमिरे रहने सहमति भएको छ । स्वरोजगारका सीईओ मनोज कृष्ण उप्रेती भने डीसीईओ बन्नेछन् ।
मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब पुग्नेछ । स्वरोजगाकार लघुवित्तको चुक्ता पूँजी ५० करोड रुपैयाँ र समता घरेलुको ३४ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् लघुवित्तको पोर्टफोलियो १० अर्ब भन्दा बढी हुनेछ । १५० वटा शाखा कार्यालय र २ लाख सदस्य पुग्नेछन् । मर्जरपश्चात् केन्द्रिय कार्यालय काठमाडौं उपत्यकामा सार्ने सहमति भएको छ ।
नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । डीडीए रिपोर्टमा धेरै तलमाथी भए सोही अनुसार मर्ज हुने जनाइएको छ ।
मर्जरपश्चात् लघुवित्तको अध्यक्ष मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र सीईओ नेरुडे लघुवित्तका सीईओ भोजराज बस्याल बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।
हाल नेरूडे लघुवित्तको चुक्ता पूँजी ६० करोड र मिर्मिरे लघुवित्तको चुक्ता पूँजी ५३ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड भन्दा बढी पुग्नेछ । दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । शैद्धान्तिक स्वीकृति पाएको ६ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ ।
सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार निर्धारण गरिने सामुदायिक लघुवित्तका सीईओ निर्मल कार्की ले जानकारी दिए ।
‘बिपीलब्ल्यू लघुवित्त धितोपत्र बजारमा सूचीकृत हुन बाँकी छ, आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ, सर्वसाधारणका लागि सेयर जारी गरेपश्चात् सेयर मूल्यलाई आधार मानेर डीडीए रिपोर्ट तयार गरिनेछ,’ सीईओ पोख्रेलले भने ।
मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका बन्नेछन् ।
मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् ।
बैशाख अन्तिमसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखेका यी दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको सीईओ पोख्रेलले बताए ।
नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ ।
मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् ।
दुवै लघुवित्तबीच बैशाख मसान्तसम्म एकीकृत कारोबार गर्न लक्ष्य लिएको सीईओ घिमिरेले जानकारी दिए । उनका अनुसार शैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्ने तयारी रहेको छ ।
मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट उकीकृत कारोबार हुनेछ । नयाँ सारथीको केन्द्रिय कार्यालयलाई मुख्य अफिसका रुपमा तोकिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तका ८८ वटाशाखा कार्यालय र ग्राहक सदस्य १ लाख ३० हजार भन्दा बढी पुग्नेछ ।
धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले पुस १८ गते शैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।
मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारी र सीईओमा खप्तड लघुवित्तका सीईओ सुरेश बहादुर बम रहने सहमति भएको छ ।
बैशाखसम्म एकीकृत करोबार गर्ने लक्ष लिइएको छ भने स्वाप रेसियो डीडीए रिपोर्ट अनुसार निर्धारण गरिनेछ । धौलागिरी लघुवित्तको केन्द्रिय कार्यालय बागलुङलाई मुख्य कार्यालयका रुपमा तोकिएको छ ।
मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ३१ लाख रुपैयाा पुग्नेछ भने ५० वटा शाखा कार्यालय पुग्नेछ । राष्ट्रियस्तरको धौलागिरी लघुवित्तको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले शैद्धान्तिक स्वीकृति पनि प्रदान गरिसकेको छ ।
प्रारम्भिक सम्झौता अनुसार दुवै लघुवित्त १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् बन्ने लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने सहमति भएको छ । फागुन भित्र एकीकृत कारोबार गर्ने लक्ष राखिएको छ ।
मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्ष र सीईओ दुवै नेशनल लघुवित्तले पाउने सहमति भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।
मर्जर पश्चात् चुक्ता पूँजी सवा १ अर्ब भन्दा बढी पुग्नेछन् भने शाखा २०४ वटा कार्यालय पुग्नेछन् ।
डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको हो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो ।
सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
राष्ट्र बैंकले फागुन १८ गतेसम्म मर्जरका लागि अन्तिम समय दिएको छ । मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् ।
साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।
मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ ।
मर्जर पश्चात् लघुवित्तको सीईओमा साना किशान लघुवित्तका सीईओ डा. शिव राम प्रसाद कोइराला बन्नेछन् ।
सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो । सिवाइसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ भने आँधिखोला लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जामा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar