काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरुलाई बोलाउने भएको छ ।
बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।
जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।
यस्तै, पूर्वप्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।
बयानको लागि बहालवाला न्यायाधीशलाई समेत बोलाइने
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम संकलन गरी बोलाउछौँ’, उनले भने, ‘वयानमा नाम जोडिएर आएका वहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।’
समितिको अर्को वैठक बिहीबार बिहान ८ः३० मा बस्नेछ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि बयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो ।
राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।
समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar