मस्को – पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ ।
रुसी अधिकारीहरूका अनुसार मंगलबार मस्कोस्थित अस्पतालमा उनको निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ ।’ गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।
सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ । स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्भाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे । युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे । साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ । केही कम्युनिस्ट नेताले पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण उनलाई अमेरिकाको एजेन्टसम्म भन्ने गर्थे ।
उनले नै ‘ग्लासनोस्टको नीति’ र भाषणमा स्वतन्त्रताको नीति अपनाएका थिए । गोर्भाचेभले नै सरकारलाई खुला रूपमा सल्लाह दिन पाइने सूचनाको व्यापक प्रसार गर्ने नीति लिएका थिए । उनले पेरेस्त्रोइका अर्थात पुनर्संरचनाको नीति अपनाउँदै आर्थिक सुधारको कार्यक्रम सुरु गरेका थिए । उनकै कार्यकालमा प्रेस र कला समुदायलाई सांस्कृतिक स्वतन्त्रतासमेत दिइएको थियो। उनलाई सन् १९९० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । पूर्व र पश्चिमबीच सम्बन्ध चिसिइरहेका बेला नाटकीय रूपमा सम्बन्ध सुधार भएको बताउँदै उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । टकरावबाट भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ । शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको नोबेल समितिको भनाइ थियो।
सोभियत संघलाई बचाउन नसकेकोमा भने उनी दु:खी थिए । सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचेभले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट सोभियत संघ औपचारिक रूपमा विघटन भएको थियो । उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘मलाई आज पनि यो कुराको दु:ख छ कि मैले आफ्नो जहाज शान्त समुद्रसम्म ल्याउन सकिनँ र देशमा सुधार ल्याउने कुरालाई सफल बनाउन सकिनँ।’
मिखाइल गोर्भाचेभको निधनमा विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्भाचेभको निधनमा दु:ख व्यक्त गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् । पेस्कोभका अनुसार पुटिनले बिहीबार गोर्भाचेभको परिवार र साथीहरूलाई समवेदना पठाउँदैछन् । सन् २०१८ मा पुटिनले सोभियत संघ ब्युँताउने वक्तव्य दिएको समाचारसमेत प्रकाशित भएका थिए ।
त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोर्भाचेभको निधनमा दु:ख व्यक्त गर्दै ‘सक्रिय प्रतिबद्धताका साथ सोभियत समाजलाई खुलापनमा रूपान्तरण गर्दै विश्वसामु उदाहरण पेस गर्ने नेता’ का रूपमा सम्झिएका छन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गोर्भाचेभले ‘इतिहासको बाटो बदलेको’ बताएका छन् । उनले भनेका छन्, ‘मिखाइल गोर्भाचेभ एक जना असल राजनीतिज्ञ थिए । विश्वले एक विश्वनेतालाई गुमाएको छ जसले बहुलवाद र शान्तिको निरन्तर वकालत गरे ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar