२०७९ श्रावण २३, सोमबार
काठमाडौं – छाउपडी प्रथाविरुद्ध एलपी शर्मा र गौरव गिरीको टिमले ‘लिलु’ गीत बनाएको छ ।
‘लिलु’ अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा कुप्रथाका रुपमा रहेको छाउपडीको कथा बोकेको देउडा गीत हो । यसमा मुख्य पात्र लिलुले पहिलो पटक आफू छाउ भएको सपना देख्छिन् । दोस्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउँछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् ।
लिलुले आफुलाई गाँस, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् । सन् २०१८ को अगस्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरे पनि नेपालमा अझैसम्म पूर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।
यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । तर, यो कानुनले छाउपडीलाई रोक्न सकेको देखिँदैन । सुदुरपश्चिमका जिल्लामा अहिले पनि छाउपडी प्रथा देखिएकै कारण गीत – संगीतबाट भए पनि सन्देशप्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले शर्मा र गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय गर्यो र बन्यो ‘लिलु’ । गीतमा लिलुले एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना पोख्छिन् ।
तर, उनकी आमाले वर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुँदैन भन्दै सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ । एलपी शर्मा र गौरव गिरीको शब्द रचना रहेको गीतमा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको आवाज छ । रोहित देउवाकै संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेञ्ज गरेका छन् । वान डिबी स्टुडियोमा विमल चिनालले रेर्कड गरेको गीतको भिडियोमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुवँर, मुकेश सुनार, इब्सु सञ्ज्याल र पशुपति कुँवरको अभिनय छ ।
गौरव गिरीले निर्देशन गरेको गीतको भिडियोलाई राजधानीमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले एक समारोहका बीच सार्वजनिक गरिन् । उनले छाउपडी प्रथा रोक्नका लागि सरकारी तवरबाटै जोड दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले नेपाली समाजमा अझै पनि छोरा र छोरीबीच भेदभाव रहेकाले दुवैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात् गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘गीतमा छाउपडी प्रथाविरुद्धको सन्देश राम्रोसँग प्रवाह भएको छ । यो गीतले समाज परिवर्तनमा भूमिका खेल्ने आशा राख्न सकिन्छ ।’
रचना गौतमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियन्ता राधा पौडेल, संगीतकार तथा गायक वसन्त सापकोटा, सञ्चारकर्मी डब्बु क्षेत्री लगायतले गीतका बारेमा आफ्ना भनाई राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar