काठमाण्डौ – राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे आठ महिनामा नै सरुवा गरिएको छ ।
राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २ सय ८१ जना व्यक्ति तथा फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा कुल ११५ वटा मुद्दा दायर गरेको थियो ।
सोमबार सरुवा भएपछि महानिर्देशक पौडेलले आफ्नो साढे आठ महिने प्रगति विवरण सार्वजनिक गरेका थिए । विभागका महानिर्देशक पौडेलको सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । साढे आठ महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको महत्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त भएका पौडेललाई सरकारले २०७८ साल १८ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर पठाएको थियो ।
आफ्नो करिब साढे आठमहिने कार्यकाल पूरा गरी सोमबार विभागबाट बिदाइ भएका महानिर्देशक पौडेलले आफ्नो कार्यकालमा भएका विविध उपलब्धिमूलक काम कारबाही’ जानकारी गराउने क्रममा झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको बताएका हुन् । उनले आफ्नो यस आठमहिने कार्यकाललाई निकै उपलब्धिमूलक भएको दाबी गरे । उनले एउटै आर्थिक वर्षमा दुईपटक विभागीय प्रमुख परिवर्तन हुँदासमेत यस विभागबाट हुने अनुसन्धान र अभियोजनले निरन्तरता पाएको बताए ।
उनले आफ्नो कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबारमा गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सी, ठूलो परिमाणका विदेशी विनिमय अपचलनका गतिविधिजस्ता अत्यन्तै जटिल र केही नयाँ विषयमा समेत विभागले उपलब्धिमूलक काम गरेको र यस्तै विषयमा आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको जानकारी गराए ।
महालेखापरीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा विभागको अनुसन्धान निरन्तर रहेको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar