उदयपुर – उदयपुरको बेलका नगरपालिकामा १६ वर्षीया बालिका कविता सुनुवारलाई उनकी साथी र साथीका दाजु मिलेर पूर्वयोजनाअनुसार हत्या गरेको रहस्य खुलेको छ ।
कविताको हत्या आरोपितलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । घरबाट ट्युसन पढ्न हिँडेकी कविताको मंगलबार हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका – ३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल र उनका दाजु (ठूलो बुबाका छोरा) १९ वर्षीय विनोद ढकाललाई हत्या आरोपीका रूपमा सार्वजनिक गरेको हो ।
बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयकी कविताको हत्या भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले मंगलबार नै मृतककी साथीसहित दुई जनालाई पक्राउ गरेको थियो । एक वर्षदेखि बहिनीकै घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए । पक्राउ परेकी सरिता नाबालिक भएकाले दाजु विनोदलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।
‘अहिलेसम्म अनुसन्धानले हत्यामा दाजुबहिनी दुई जनाको मात्रै संलग्नता देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौँ’, प्रहरी उपरीक्षक बोहोराले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी रहेकाले थप विवरण आउन केही समय लाग्छ ।’ कविता नजिकिँदै गएको एसइइ परीक्षाको तयारीमा थिइन् । सोही क्रममा उनी मंगलबार विहान ट्युसन पढनका लागि विद्यालय जाँदै थिइन् । सोही क्रममा उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक बोहोराका अनुसार मृतक कविताले होच्याउने र चिड्याउने गरेको हुँदा त्यसैको बदला लिन आरोपित बालिकाले दाजुको सहयोगमा कविताको हत्या गरेको स्वीकार गरेका छन् । हत्या गर्नुको मुख्य कारण प्रतिशोध रहेको प्रहरी उनले बताए । मृतक कविता र हत्यामा संलग्न नाबालिक मिल्ने साथी थिए । उनीहरू दुवैजना स्थानीय कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीका अनुसार, योजना बनाएरै कविताको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । योजना अनुसार दाजु विनोदको सहयोग लिएर कविताको हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । कविताको हत्या गर्ने क्रममा सुरुमा पछाडिबाट खाली बियरको बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुंगाले हानेको बयान आरोपित दाजुबहिनीले दिएका छन् ।
प्रहरीका अनुसार उनीहरूले हत्या गरेपछि शवलाई करिब ४० मिटर टाढा घिसार्दै लगेर छाडेका थिए । घटना भएको केही घण्टापछि कवितालाई स्थानीयले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar