साहित्यकार ‘रूपक अलङ्कार’ अर्थात् रूपक अधिकारी (३४) को महाकाव्य ‘विश्रान्त’ भर्खरै प्रकाशित भएको छ । नेपाली समाजको चित्रलाई काव्यिक रूपमा चित्रण गरिएको महाकाव्यले राजनीति, संस्कृति, जनजीवन, कृषि लगायतका विषयलाई उठाएको छ ।
धादिङ, थाक्रे – ८ मा जन्मिएका अलङ्कारले वेदमा आचार्य र नेपालीमा स्नातकोत्तर गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत उनी अनाममण्डलीको अध्यक्ष र राष्ट्रिय जनसाहित्यिक संघमा आबद्ध छन् । शब्दसंयोजन मासिकका सम्पादक तथा प्रज्ञा नेपाली बालगजलको सहसम्पादकका रूपमा कार्यरत अलङ्कारको यसअघि ‘देशको पुर्पुरो’ गजलसंग्रह प्रकाशित भएको छ । कविता, निबन्ध, समालोचना लगायतका विधामा कलम चलाउँदै आएका अलङ्कारको शिखा बुक्सले प्रकाशित गरेको ‘विश्रान्त’ महाकाव्यसँग सम्बन्धित रहेर गरेको संक्षिप्त कुराकानी :
० नेपाली साहित्य बजारमा कविताका लागि त्यति अनुकूल समय नभएको बेला महाकाव्य नै निकाल्नुभयो नि ?
महत्त्वपूर्ण प्रश्नका लागि तपाईंलाई धन्यवाद छ । नेपाली साहित्यको बजार कविताका लागि अनुकूल छैन । बजारका लागि त साहित्य नै अनुकूल छैन भन्दा पनि हुन्छ । त्यसमा पनि कविता अनुकूल हुने भएन नै । तर लेख्ने बेलामा बजारको हेक्का नहुने रहेछ । लेखकको काम बजारको मूल्यांकन गर्ने पनि होइन, त्यो काम त प्रकाशकको हो । के लेख्ने भन्ने कुरा लेखकको इच्छा र अभ्यस्ततामा भर पर्ने कुरा हो ।
मेरा विचारमा बजारको माहोल क्षणिक हुन्छ र सिर्जनाको आयु लामो हुन्छ । यहाँभन्दा अगाडिका महाकाव्यकारहरूले पनि बजारको अनुकूलतालाई महत्त्व दिएका अवश्य होइनन् । सिर्जनाको सनातन शक्तिका अगाडि बजार केही पनि होइन । रघुवंश महाकाव्य त अहिले पनि बजारमा बिक्छ तर त्यसको रोयल्टी कालीदासले पाएका छन् र ? यस्तै सोच आएर महाकाव्य लेख्न जाँगर चलाएको हुँ ।
० ‘विश्रान्त’ को मुख्य आधार केलाई मान्नुभएको छ ?
‘विश्रान्त’ महाकाव्यमा विषयवस्तुको आधार नेपालको राजनीति हो । कथानकलाई फिँजाउने आधार माओवादी जनयुद्ध र शान्तिप्रक्रियाको उतारचढाव हो । प्रस्तुतिको आधार पद्य अर्थात् छन्द हो ।
० अर्थात् यसको रचनागर्भका बारेमा बताइदिनुस् न ।
नेपालको राजनीतिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा माओवादी जनयुद्धको दूरगामी असर परेको छ भन्ने मलाई लागिरहेको थियो । यस विषयमा केही लेख्ने मेरो इच्छा पनि थियो । युद्धमा प्रत्यक्ष सामेल नभए तापनि प्रत्यक्ष रूपमा प्रभावित हामी सबै भएका छौँ ।
यसप्रतिको सकारात्मक वा नकारात्मक प्रतिक्रिया सबैका मनमा छ नै । मैले आफ्नो प्रतिक्रियालाई महाकाव्यको रूप दिएको हुँ । यसका अतिरिक्त मैले आजसम्म प्राप्त गरेको काव्यिक अनुभव, ज्ञान र सामाजिक प्रभावलाई अभिव्यक्ति दिन पनि महाकाव्य रोजेको हुँ ।
० नेपाली समाजको पृष्ठभूमिलाई काव्यिक रूपमा उतार्नुको उद्देश्य के हो ?
नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने कविता वा काव्यले समाजलाई धेरै वर्ष बोकेर हिँडेको पाइन्छ । साहित्यको प्राथमिक कालदेखि नै कविताले समाज र संस्कृतिलाई मानिसका ओठमा झुण्ड्याएको हो । यो सामथ्र्य साहित्यका अरू विधामा हुँदैन । लयप्रवाह र रससञ्चार कारण कविता मानिसको हृदयमा छिट्टै टाँसिने क्षमता राख्दछ ।
त्यसकारण सामाजिक मनोविज्ञान, दुःख, सुख, हाँसो, खुसी आदिलाई काव्यको मालामा उनेर सारंगीमा सुर भर्दै हिँड्ने त हाम्रो इतिहास नै हो नि । समाजलाई पृष्ठभूमि बनाएर काव्य लेख्ने परम्परामा यो महाकाव्य पनि एउटा प्राप्ति हो । समाजलाई बिर्सेर साहित्य लेखिन्छ जस्तो त मलाई लाग्दा पनि लाग्दैन ।
० किसान, गाउँले परिवेश, जनजीविका, प्रकृति लगायतका विषयलाई पनि महाकाव्यको आधारका रूपमा लिनुभएको छ नि ?
महाकाव्य विस्तृत परियोजनामा सम्पन्न हुने सिर्जना भएकाले यसले जीवनको सम्पूर्णताको माग गरिहाल्छ । ग्रामीण वा सहरिया समाज, जनजीविका, प्रकृतिजस्ता कुराहरू महाकाव्यमा पूरकका रूपमा आएका छन् । महाकाव्यको परिभाषाले भनेजस्तो गरी प्रकृति वा संस्कृतिको वर्णनलाई भने महत्त्व दिइएको छैन तर प्रसंगवश आवश्यकता परेको कुरालाई भने छोडिएको पनि छैन ।
महाकाव्यका पात्रहरूको उद्गमभूमि नै गाउँ हो । म आफैँ गाउँको परिवेशमा हुर्किएको प्राणी भएकाले पनि गाउँले परिवेशको वर्णन मेरा लागि सुखद भयो । माओवादी आन्दोलनको मुख्य पीठिका गाउँ, वनजंगल र डाँडापाखा नै हुन् त्यसैले शान्तिसम्झौताभन्दा अगाडिका प्रसंगमा गाउँले परिवेश, किसान जीवन र प्रकृति आधार बनेर आएका छन् ।
० ‘विश्रान्त’ मा जनयुद्धको प्रभावलाई प्रस्तुत गरिएको छ । के यो आन्दोलनले नेपाली समाजलाई रूपान्तरण गर्नका लागि यहाँले भनेजस्तै महत्त्वपूर्ण भूमिका खेलेको हो ?
‘विश्रान्त’ महाकाव्यको विषयभूमि माओवादी जनयुद्ध र त्यसले पारेको प्रभाव नै हो । नेपाली समाज र राजनीतिको चेतनालाई परिवर्तन गर्ने कार्यमा यसले पारेको प्रभावलाई बेवास्ता गरेर किमार्थ बुद्धिजीवी हुन सकिँदैन । अवश्य पनि यस विषयमा तर्कवितर्क हुन सक्छन् तर यसलाई भुसुक्क बिर्सन भने सकिँदैन । त्यसो गरेमा इतिहासप्रति न्याय हुँदैन र सामाज रूपान्तरणको महान् अभिलाषा बोकेर युद्धमा वीरता प्राप्त गरेका सहिदका नजरमा हामी कृतघ्न बन्न पुग्छौँ ।
आगामी दिनमा देश र जनताका नाममा संघर्ष गर्ने मानिस पनि जन्मिँदैन । विगतको इतिहासलाई सम्मान गर्नु वा उल्लेख गर्नु भनेको भविष्यप्रति सुरक्षित हुनु पनि हो । जनयुद्धबाट उठेर राजनीतिमा स्थापित भएका अहिलेका नेताहरूको वैचारिक, चारित्रिक तथा व्यावहारिक पतनलाई हेरेर त्यतिबेला युद्धमा सामेल भएका वा सहिद भएका मानिसको अवमूल्यन गर्नु हाम्रो मूर्खता सिवाय केही होइन ।
त्यसमाथि समाजको रूपान्तरणमा भूमिका खेलेको कुरा कसैले मान्दा वा नमान्दामा सत्य हुने होइन त्यो त समाजलाई, संस्कृतिलाई, मानिसले गरेको आत्मबोधलाई, त्यसपछि बनेका ऐन कानुनलाई विचार गर्दा पनि थाहा हुने कुरा हो ।
० यहाँले जनयुद्धले सामाजिक तथा सांस्कृतिक गतिशीलताको धारामा युगान्तकारी परिवर्तन ल्याएको प्रसंगलाई महाकाव्यको सारको रूपमा उठान गर्नुभएको हो ?
राजनीतिक हिसाबमा माओवादी जनयुद्धले एउटा युग परिवर्तन गर्नमा अहं भूमिका निर्वाह गरेको तथ्य सत्य हो । त्यो भनेको राजसंस्थाको विस्थापना र संघीय गणतन्त्रको स्थापना नै हो । सामाजिक तथा सांस्कृतिक गतिशीलताका धारामा युगान्तकारी परिवर्तन पनि ल्याएको हो ? भन्ने प्रश्नमा चाहिँ निकै तर्क गर्न सकिन्छ ।
राजनीतिमा जस्तो समाज र संस्कृतिमा छिट्टै परिवर्तनको अनुभूति गर्न पाइँदैन । अझ संस्कृतिमा परिवर्तन देखिन त झन धेरै समय लाग्छ त्यसकारण जनयुद्धले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको भन्दा पनि परिवर्तनको आरम्भ गरेको कुरा चाहिँ मेरा लागि उपयुक्त हो । सांस्कृतिक परिवर्तन बाहुबलले भन्दा पनि चेतनाको बलले सम्भव हुने कुरा हो । चेतनाको घाम लागेर चर्किन त अलि समय लागि हाल्छ नि ।
० यस्तै, सामाजिक तथा सांस्कृतिक मात्रै नभई यो आन्दोलनले राजनीतिक धारलाई फरक ढंगले अगाडि बढाए पनि त्यसको बैठानमा उल्झन आएको भन्ने विषय महाकाव्यमा आएको छ नि ?
निश्चित पनि माओवादी जनयुद्धले नेपालको राजनीतिलाई दूरगामी असर पारेको छ । यो राजनीतिक आन्दोलन नै हो । सामाजिक तथा सांस्कृतिक पक्ष राजनीतिसित जोडिएर आउने तत्त्व हुन् । जनयुद्धको प्राथमिक उद्देश्य भनेको सशस्त्र द्वन्द्वमार्फत पुरानो राज्यव्यवस्थालाई हराएर नयाँ जनवादी सत्ता कायम गर्नु हो । सामाजिक तथा सांस्कृतिक रूपान्तरण त आफू सत्तामा पुगेपछि निर्माण हुने संविधान, कानुन र प्रगतिवादी विचारबाट हुने कुरा हो ।
राजनीतिक परिवर्तन हुँदैमा सांस्कृतिक रूपान्तरण हुँदैन भन्ने कुरा जो कसैले बुझेको हुन्छ । किनभने राजनीति वस्तुगत हुन्छ र संस्कृति भावगत वा अमूर्त हुन्छ । राजसंस्था आन्दोलनले हटाउन सक्यो तर पशुपतिको पुजारी हटाउन सकेन । यस विषयको टड्कारो उदाहरण नै यही हो । जहाँसम्म माओवादी आन्दोलनको बैठानमा उल्झन आएको कुरा छ त्यो जगजाहेर नै छ । यो कुरा अरूलाई होइन आन्दोलनको नेतृत्व गरेर आएका नेतालाई नै सोध्ने हो भने पनि उत्तर यही आउँछ । हिजो युद्धका बेला एक भएर लडेका मानिसहरू आज धेरै खण्डमा खण्डित भइसके ।
एउटा सत्तापक्ष बनेर अर्र्काे पक्षलाई पत्तासाफ बनाउने अवस्थामा पुगेका छन् हिजोको युद्धका मसिहाहरू । महाकाव्यमा चेतनानामक पात्रमार्फत यही तथ्य उजागर गर्न खोजेको हुँ । संविधानसभाको पहिलो चुनावताका जनताको आशा र उत्साह धेरै थियो माओवादीप्रति ।
देशलाई नयाँ युगमा प्रवेश गरेको देख्न चाहने आममानिसको संवेदनालाई माओवादीले अलिकति पनि सम्बोधन गर्न सकेन । आफ्नो आन्दोलनले स्थापना गरेका कुरालाई समेत स्वामित्वमा लिन नसक्ने अस्थामा पुगेर यो आन्दोलन छिन्नभिन्न हुँदै छ । संसदीय व्यवस्थाका विरुद्धमा सुरु भएको आन्दोलन संसदीय दलदलमा आएर डुबेको छ । यस बीचमा जुन किसिमको जनधनको क्षति भएको छ त्यसअनुसारको पूर्ति भने भएको छैन । यही असन्तुष्टि नै विश्रान्त महाकाव्यको कथ्य हो ।
० महाकाव्य आफैँमा के हो ?
महाकाव्य कविताको बृहत् रूप हो त्यसकारण कविताको परिभाषा महाकाव्यमा पनि अंशतः लागू हुन्छ । महाकाव्यमा आएको महान् शब्दले ठूलो मात्र नबुझाएर पूजनीय वा विशिष्ट भन्ने अर्थ पनि द्योतन गर्छ । त्यसैले महाकाव्य आकारमा त ठूलो (महा) हुन्छ नै गुणवत्तामा पनि महान् हुनैपर्छ । शास्त्रीयताका आधारमा भन्दा महाकाव्यले महान् कथा, महान् चरित्र, महान् परिवेश र महान् प्रस्तुतिको माग गर्दछ ।
अश्वघोष, कालीदास, भारवि, माघलगायतका संस्कृतका महाकविहरूले बुद्ध, राम, अर्जुन, कृष्णजस्ता इतिहासप्रसिद्ध चरित्रहरूलाई महाकाव्यमा उतारेका छन् यसो गर्नु महान् कथा र महान् चरित्रको खोजी हो । महाकाव्यका तत्त्व मात्र महान् भएर हुँदैन स्रष्टाको कवित्व पनि महान् नै हुनुपर्छ । अन्यथा महाकाव्य बेकारको रहर मात्र बन्न पुग्छ । कथागत व्यापकता, वर्णनगत उदारता र तीव्र रसात्मकताले महाकाव्यलाई ओजिलो बनाउने हुन् । महाकाव्यको लक्षणका विषयमा अनेकौँ ग्रन्थ रचना भएका छन् । तिनमा घोत्लिँदा पनि हाता लाग्ने निष्कर्षचाहिँ यस्तै हो ।
० पूर्वीय साहित्य परम्परामा महाकाव्यको विशिष्ट महत्व रहेको छ । तर पछिल्लो समय यसप्रति त्यति रुचि र चासो देखिँदैन नि ?
निश्चय पनि महाकाव्य साहित्यको प्राचीन कालदेखि नै लोकप्रिय हुँदै आएको विधा हो । पूर्वीय साहित्यमा पनि महाकाव्यले विशिष्ट सम्मान पाएको छ । पूर्वीय महाकाव्यको शक्ति भनेको कलात्मकता नै हो किनभने यिनले मौलिक कथालाई महत्त्व नदिएर इतिहास वा पुराणमा प्रसिद्धि कमाएर जनमानसमा स्थापित कथा र चरित्रलाई महत्त्व दिएका छन् । त्यसकारण कथाको सिर्जनामा संस्कृतका कविहरूको योगदान स्मरणीय छैन ।
तर, यिनमा भएको विदग्ध कलाकारिता वा काव्यचेत भने अवर्णनीय नै छ । गम्भीरता र आलंकारिकता जस्ता गुणलाई पूर्वीय महाकाव्यले मजाले पचाएका छन् । यही परम्परा नेपाली महाकाव्यले पनि समाएको छ । संख्यात्मक हिसाबले नेपाली महाकाव्य कमजोर छैन । यसप्रति रुचि र चासोको जुन कुरा छ, तपाईंले गरेको शंका सत्य पनि हो । महाकाव्यको पठन रुचिले भन्दा पनि बाध्यताले हुने गरेको छ ।
बजारमा बढी चर्चा हुने भनेको आख्यानको हो त्यसैले आख्यानहरू हजारौँ छापिन्छन् दुई–चारका नाम सुनिन्छन् । महाकाव्य दुई–चार मात्र छापिन्छन् एउटाको पनि नाम सुनिन्न । त्यसैले तुलनात्मक रूपमा महाकाव्यका पाठक थोरै होलान् तर हुँदै नभएका भने होइनन् । अर्काे कुरा हाम्रो महाकाव्य लेखन अलि झुरपटास पनि छ । व्यक्तिको जीवनीमाथि महाकाव्य लेखिन्छ । अरू कतै कामै नलागेको विषय चाहिँ ल्याएर महाकाव्यमा उन्ने काम हुन्छ ।
कम्तीमा युगानुकूल विषयचयन र प्रस्तुतिमा महाकाव्यकारहरूको ध्यान जानुपर्ने हो नि त्यो पनि छैन । कतिपय महाकाव्यहरू दर्शनशास्त्रको व्याख्या गर्ने खालका छन् भने कतिपय बुढ्यौलीको गनथन भरेर पितृतर्पणका लागि लेखिएका छन् । यस्तैका हुलमुलमा परेर राम्रा महाकाव्यको रसास्वादनबाट पाठक वञ्चित भएको छ । बजारलाई गाली गर्ने वा कसैले पढेनन् भनेर छटपटाउने मात्र गरेर त भएन नि । पाठकले पढ्ने गरेर पनि लेख्नुपर्यो ।
० खास साहित्य बजारले यसप्रति त्यति ध्यान दिँदैन भन्न खोज्नुभएको हो ?
महाकाव्य एकदम थोरै लेखिने विधा हो साथै थोरै पढिने विधा पनि हो । त्यसैले लेखक र प्रकाशकका बीचमा निकै दुरी छ । बजारले यसप्रति खासै ध्यान दिँदैन भन्ने कुरा साँचो हुँदाहुँदै पनि महाकाव्य प्रकाशित हुने कार्य रोकिएको छैन । शिखा बुक्सबाट विश्रान्त महाकाव्य छापिएको छ ।
नवराज लम्सालको ‘अग्नि’ तथा घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ पनि यसै वर्ष प्रकाशित भएका छन् तर विडम्बना के छ भने एकपटक मदन पुरस्कार पाएको लेखकको बाँकी उपन्यास त्यही पुरस्कार भजाएर बजार चलिरहन्छ तर त्यही मदन पुरस्कार पाएको कविको लगत्तै आएको महाकाव्यको नामोनिसान बजारमा देखिँदैन । अलिकति त महाकविहरूले बिजनेस गर्न नजानेका हुन् कि ।
० ‘विश्रान्त’ प्रति पाठकको कस्तो अपेक्षा राख्नुभएको छ ?
विश्रान्त महाकाव्यको विषयका बारेमा धेरै चर्चा भयो तर महाकाव्यमा विषयभन्दा प्रस्तुति महत्त्वपूर्ण हुन्छ । सहज रूपले बोधगम्य नभएका कारण पाठकहरू महाकाव्यदेखि भड्किएका हुन् । म आफैँ पनि धेरै महाकाव्यबाट दुर्बाेध्य भएकै कारण पीडित भएको छु । त्यसकारण सकेसम्म महाकाव्यलाई सरल र सुबोध बनाउने प्रयास गरेको छु । महाकाव्यमा प्रवेशै गर्न नखोज्ने मान्छेको त के कुरा भयो र तर जसले पढ्न थाल्छ उसले निराश हुनुपर्दैन भन्ने कुरामा चाहिँ म विश्वस्त छु ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar