२०८१ आश्विन २५, शुक्रबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्ने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो भए पनि विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । केन्द्रीय बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिँदै आधिकारिक वेबसाइटको सुनिश्चितता पछिमात्र आर्थिक कारोबार गर्नुपर्नेमा पनि जोड दिएको छ ।
नेपाल राष्ट्र बैंकको सार्वजनिक पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब रुपैयाँभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिएस मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । गत आवको मंसिर महिनामा विद्युतीय कारोबार २३ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको थियो । कारोबार तथा भुक्तानीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ ।
तर, चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेसनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासवर्ड तथा ओटिपी विभिन्न बहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यसबारे सजग र सुरक्षित रहन सुझाव दिएको छ । विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न उपायले ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन राष्ट्र बैंकले प्रयोगकर्तालाई अनुरोध पनि गरेको छ ।
हाल सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै केन्द्रीय बैंकले यस प्रकारका ठगीबाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई ध्यानाकर्षण गरेको छ ।
अपरिचित व्यक्तिलाई आफ्नो पासवर्ड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी नदिन, आफ्नो पासवर्ड समय – समयमा परिवर्तन गर्न तथा यस्ता पासवर्ड गोप्य राख्न भन्दै राष्ट्र बैंकले अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे – नगरेको व्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र त्यस्तो रकम पठाउन पनि आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar