२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – आफूलाई सबैभन्दा कान्छो कमर्सियल बैंक भएको बताउने गरेको सेञ्चुरी कमर्सियल बैंकमा बैंकको स्रोतसाधनको दोहन गर्न सञ्चालकहरुले नै डरलाग्दो ‘सेटिङ’ गरेको रहस्य सार्वजनिक भएको छ ।
बैंकका अध्यक्ष राजेश श्रेष्ठले रेमिट्यान्स कारोबारमा प्राप्त हुने नियमित आम्दानी लुकाउनको आफू र आफन्तको नाउँमा कम्पनी खडा गरेको र उक्त कम्पनीको कारोबार सेञ्चुरी बैंकमार्फत हुने गरेको भए पनि आम्दानी भने आफ्नो छुट्टै कम्पनीमा पठाउन ‘सेटिङ’ गरेका हुन् ।
स्रोतका अनुसार बैंकमा अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालक रण बहादुर श्रेष्ठ र बैंकका बजार प्रमुख रमेश कुमार श्रेष्ठको श्रीमती नबिना श्रेष्ठ र बैंकका तत्काली प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईको श्रीमतीको नाउँमा राम्रो रेमिट कम्पनी खोलिएको छ । जसमध्ये रमेश कुमार श्रेष्ठ सेञ्चुरी बैंककै सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी रहेका छन् भने भट्टराई क्यानडामा बस्दै आएका छन् । सेञ्चुरी बैंकमा कार्यरत रहेकै अवस्थामा राम्रो रेमिट खोलिएको थियो । जसको प्रमुख उद्देश्य रेमिट्यान्स कारोबारबाट आएको रकम लुकाएर बैंकका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुलाई बाँड्नु र हुण्डीको कारोबार गर्नु रहेको दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार रमेश कुमार श्रेष्ठ नाताले बैंकका अध्यक्ष राजेश श्रेष्ठका ज्वाइँ हुन् । सोही आधारमा अध्यक्ष श्रेष्ठले सेटिङमा आफन्त र व्यावसायिक साझेदारको नाउँमा राम्रो रेमिट खोलेका हुन् । राम्रो रेमिट यीबाहेक झण्डै अन्य ३० जनाको सेयर लगानी रहेको भए पनि कम्पनीमा हालीमुहाली भने श्रेष्ठद्वय र भट्टराईकै रहने गरेको छ ।
स्रोतका अनुसार सेञ्चुरी कमर्सियल बैंकले अध्यक्ष श्रेष्ठकै निर्देशनमा रेमिट्यान्स कारोबारको लागि विदेशी कम्पनीहरुसँग सम्झौता गर्ने गरेको छ । सम्झौताअनुसार केही समय उक्त विदेशी कम्पनीसँग नियमित कारोबार गर्ने गरेको देखिएको छ । त्यसपछि भने अध्यक्ष श्रेष्ठले रेमिट्यान्स कारोबारको लागि हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्ट लिमिटेड नामक कम्पनी चिनाउने र त्यो कम्पनी पनि आफूहरुकै भएको भन्दै उक्त कम्पनीमार्फत रेमिट्यान्स कारोबार गर्ने गरेका थिए । ग्यालेक्सी नेटवर्क अध्यक्ष श्रेष्ठकै व्यावसायिक साझेदार राम प्रसाद ज्ञवाली, कृष्ण प्रसाद ज्ञवाली आदिको नाउँमा हङकङमा दर्ता भएको कम्पनी हो । उक्त कम्पनीमार्फत हङकङबाट रेमिट्यान्समार्फत संकलन गरेको रकम उतै राख्ने त्यसको भुक्तानी अध्यक्ष श्रेष्ठकै निर्देशनमा यता बैंक र राम्रो रेमिटमार्फत हुने गरेको थियो । राम्रो रेमिट डोमेस्टिक कारोबार मात्र हुने कम्पनी हो ।
यता ग्यालेक्सी लिमिटेडकै सञ्चालकहरुले सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठ समेतको मिलेमतोमा कारोबार लुकाएर गैरकानुनीरुपमा कार्य गर्न अधिकृत पुँजी ५० लाख र जारी पुँजी २५ लाख रुपैयाँ राखेर एड्भान्स मनी ट्रान्सफर कम्पनी पनि खुलेको देखिएको छ । यो कम्पनीको सञ्चालक भने कृष्ण प्रसाद ज्ञवाली र गोविन्द प्रसाद शर्मा हुन् ।
यसरी सेञ्चुुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, रण बहादुर श्रेष्ठ, जीवन भट्टराईसहितका व्यक्तिहरुले बैंकको स्रोतसाधनको चरम दोहन गर्न र बैंकको नियमित आम्दानी लुकाएर बैंकलाई कमजोर बनाउन सेञ्चुरी रेमिट मनी ट्रान्सफर, राम्रो रेमिट, ग्यालेक्सी नेटवर्क लिमिटेड र एडभान्स मनी ट्रान्सफर आदिसँग गलतरुपमा कारोबार गर्ने गरेको देखिएको दाबी पनि स्रोतले गरेको छ । आर्थिक दैनिकबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar